जन्म मलेसियामा, बुबा पनि मलेसियाली, तर किन गरियो नागरिकता नपाउने फैसला ?

संगम पहरी संगम पहरी

मलेसियाको पुनरावेदन अदालतले मलेसियामै जन्मिएका दुई वयस्कलाई स्वचालित रूपमा मलेसियाली नागरिकता दिन अस्वीकार गर्दै उनीहरूको नागरिकता दाबी खारेज गरेको छ। अदालतले उनीहरूका मलेसियाली जैविक पिता भए पनि जन्म हुँदा आमाबुवा कानुनी रूपमा विवाहमा नबाँधिएकाले उनीहरूले आमाको नागरिकता नै अनुसरण गर्नुपर्ने फैसला सुनाएको हो।

जुलाई २२ मा न्यायाधीश दातुक अझाहारी कमाल राम्लीको नेतृत्वमा बसेको तीन सदस्यीय इजलासले यसअघि उच्च अदालतले गरेको फैसला सदर गर्दै दुवै निवेदकको अपिल खारेज गरेको हो। अदालतले मलेसियाको संघीय संविधानअनुसार विवाहबाहिर जन्मिएका सन्तानको हकमा अभिभावकको कानुनी व्याख्या आमालाई मात्र मानिने स्पष्ट गरेको छ।

मुद्दाका निवेदकहरूलाई अदालतले ‘जे’ र ‘डी’ भनेर मात्र उल्लेख गरेको छ। ‘जे’ को जन्म क्वालालम्पुरमा भएको थियो भने ‘डी’ को जन्म पेराक राज्यको तेलुक इन्तानमा भएको थियो। दुवै जना मलेसियामै जन्मिएर हुर्किएका भए पनि उनीहरूका विदेशी आमाले बाल्यकालमै छाडेपछि मलेसियाली पिताले नै पालनपोषण गरेका थिए।

अदालतले उनीहरूका मलेसियाली पितासँगको जैविक सम्बन्ध डीएनए परीक्षणबाट पुष्टि भए पनि जन्मका बेला आमाबुवा विवाहमा नरहेकाले संघीय संविधानको दोस्रो अनुसूचीको भाग–३ अन्तर्गतको धारा १७ लागू हुने ठहर गरेको छ। उक्त व्यवस्थाअनुसार विवाहबाहिर जन्मिएका सन्तानका लागि नागरिकताको आधार आमाको नागरिकता हुने उल्लेख छ।

यसै आधारमा अदालतले ‘जे’ ले आफ्नी इन्डोनेसियाली आमाको नागरिकता र ‘डी’ ले आफ्नी फिलिपिनो आमाको नागरिकता अनुसरण गर्नुपर्ने निर्णय सुनाएको हो।

अदालतले उनीहरूको अर्को दाबी पनि अस्वीकार गरेको छ, जसमा उनीहरूले आफूहरू कुनै पनि देशका नागरिक नभएकाले मलेसियाको नागरिकता पाउनुपर्ने जिकिर गरेका थिए। तर इजलासले दुवै जनाले आफ्ना विदेशी आमामार्फत सम्बन्धित देशको नागरिकता दाबी गर्न सक्ने भएकाले उनीहरूलाई 'स्टेटलेस' अर्थात् नागरिकताविहीन मान्न नमिल्ने निष्कर्ष निकालेको छ।

करिब ३० वर्ष पुग्न लागेकी ‘जे’ ले जीवनभर मलेसियामै बसोबास गरेकी थिइन्। जन्मपछि उनलाई मलेसियाली नागरिकका रूपमा जन्मदर्ता गरिएको थियो र उनले मलेसियाली राहदानीसमेत पाएकी थिइन्। तर १२ वर्षको उमेरमा राष्ट्रिय परिचयपत्र (माइकार्ड) बनाउन जाँदा उनको अभिलेख परिवर्तन गरी गैरनागरिकको रूपमा राखिएको थियो। त्यसपछि उनले संघीय संविधानको धारा १५(ए) अन्तर्गत चार पटक नागरिकताका लागि आवेदन दिएकी थिइन्, तर सबै अस्वीकृत भएका थिए।

उता २८ वर्ष पुग्न लागेका ‘डी’ ले पनि आफ्नो मलेसियाली पितासँगको जैविक सम्बन्ध डीएनए परीक्षणमार्फत पुष्टि गरेका थिए। उनकी फिलिपिनो आमा उनी शिशु अवस्थामै छाडेर गएकी थिइन् भने उनका पिता सन् २०२२ मा बितेका थिए। नागरिकता नहुँदा आफूले उच्च शिक्षा लिन, सवारी चालक अनुमति पत्र बनाउन, बैंक खाता खोल्न र नियमित रोजगारी पाउन नसकेको उनले अदालतमा बताएका थिए। उनले आमाबुवाको वैवाहिक अवस्थाका आधारमा नागरिकता अस्वीकार गर्नु लैङ्गिक विभेदसमेत भएको दाबी गरेका थिए।

तर पुनरावेदन अदालतले सन् २०२१ मा संघीय अदालतले दिएको ‘सीटीईबी’ नागरिकता मुद्दाको नजिरलाई आधार मान्दै दुवै निवेदकको अपिल खारेज गरेको हो। इजलासका अन्य सदस्य न्यायाधीश दातुक फैजाह जमालुदिन र दातुक हयातुल अकमल अब्दुल अजीज पनि उक्त निर्णयमा सहमत रहेका थिए।

उल्लेखनीय रूपमा, यही इजलासले गत महिना पनि मलेसियाली पिता र विदेशी आमाबाट विवाहबाहिर जन्मिएका मलेसियामै जन्मेका अन्य तीन जनाको नागरिकता अपिल अस्वीकार गरेको थियो। यद्यपि यी निवेदकहरूले अब संघीय अदालतमा अन्तिम अपिल गर्ने अनुमति माग्न सक्ने कानुनी विकल्प भने खुला रहेको छ।

यो निर्णयले मलेसियाको नागरिकता कानुन, विशेषगरी विवाहबाहिर जन्मिएका सन्तानको नागरिकता सम्बन्धी संवैधानिक व्यवस्थामाथि पुनः बहस सुरु गराएको छ। साथै, विदेशी नागरिकसँग विवाह गर्ने वा मलेसियामा परिवार बसोबास गर्ने नेपालीसहित अन्य आप्रवासी समुदायका लागि पनि यो फैसला महत्वपूर्ण कानुनी सन्देशका रूपमा हेरिएको छ।