दक्षिण कोरियामा भीषण गर्मीको कहर, बाहिर काम गर्ने श्रमिक सबैभन्दा बढी जोखिममा

आप्रवासन आप्रवासन

दक्षिण कोरियामा भीषण गर्मीले जनजीवन प्रभावित बनाएको छ। देशभर तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेपछि गर्मीका कारण मृत्यु हुनेको संख्या बढ्न थालेको छ। खेतबारी र खुला स्थानमा काम गर्ने श्रमिक सबैभन्दा बढी जोखिममा परेका छन्। विदेशी श्रमिकसमेत गर्मीका कारण ज्यान गुमाउन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको छ।

कोरिया मौसम प्रशासनका अनुसार जुलाईको अन्तिम साताको सप्ताहन्तमा देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी फैलिएको थियो। दक्षिण ग्याङसाङ प्रान्तको याङ्सान क्षेत्रमा तापक्रम ३९.३ डिग्री सेल्सियस पुगेको थियो, जुन सन् २००८ देखि रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो। गाङवोनका केही हिमाली क्षेत्रबाहेक देशभर गर्मीको प्रभाव देखिएको छ।

सरकारले दक्षिण जिओल्ला, उत्तर ग्याङसाङ, दक्षिण ग्याङसाङ र डेगु लगायतका क्षेत्रमा ‘गम्भीर गर्मी’को चेतावनी जारी गरेको छ। यस्तो चेतावनी शरीरले महसुस गर्ने तापक्रम ३८ डिग्रीभन्दा माथि वा अधिकतम तापक्रम ३९ डिग्रीभन्दा बढी पुग्ने अनुमान हुँदा जारी गरिन्छ।

जुलाई २६ को बिहान उत्तर जिओल्ला प्रान्तको वान्जु क्षेत्रमा खेतमा काम गरिरहेकी १०० वर्षीया महिला मृत अवस्थामा भेटिएकी थिइन्। उद्धार टोलीका अनुसार फेला पर्दा उनको शरीरको तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो। प्रारम्भिक अनुसन्धानले उनको मृत्यु गर्मीका कारण भएको हुन सक्ने देखाएको छ।

यसअघि जुलाई २५ मा दक्षिण जिओल्ला प्रान्तको हाएनाम क्षेत्रमा कृषि क्षेत्रमा कार्यरत ३० वर्षीय थाई नागरिक खेतमा काम गरिरहेका बेला चक्कर लागेर ढलेका थिए। आराम गर्न फर्किने क्रममा बेहोस भएका उनलाई अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको थियो। उनी चर्को घाममा काम गरिरहेका विदेशी श्रमिक थिए।

दक्षिण ग्याङसाङको साचेओन क्षेत्रमा पनि ९३ वर्षीय एक किसान धानबारीमा बेहोस अवस्थामा फेला परेका थिए। अस्पतालमा उपचार भइरहेका उनको दुई दिनपछि मृत्यु भएको थियो। त्यस्तै जुलाई २६ मै दक्षिण जिओल्लाको ह्वासुन क्षेत्रमा खुर्सानीबारीमा काम गरिरहेका ८० वर्षीय वृद्ध बेहोस भएपछि उद्धार गरिएको थियो। उद्धारका बेला उनको शरीरको तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको थियो।

दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार जुलाई २५ सम्म देशभर १ हजार ३०१ जनामा गर्मीसम्बन्धी स्वास्थ्य समस्या देखिएको छ। तीमध्ये कम्तीमा ६ जनाको मृत्यु पुष्टि भइसकेको छ। जुलाई २६ का थप घटनासहित वास्तविक क्षति अझ बढ्न सक्ने सरकारी अनुमान छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार अधिकांश बिरामी खेतबारी, कृषि फार्म, निर्माणस्थल, समुद्री जहाज तथा अन्य खुला क्षेत्रमा काम गर्ने श्रमिक रहेका छन्। विशेषगरी अत्यधिक घाममा लामो समय काम गर्नुपर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको जनाइएको छ।

भीषण गर्मीले पशुपालन क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। गृह तथा सुरक्षा मन्त्रालयका अनुसार जुलाई २५ सम्म २ लाख ५५ हजारभन्दा बढी पशुपन्छी मरेका छन्, जसमा अधिकांश कुखुरा रहेका छन्। किसानहरूले फार्ममा भेन्टिलेसन, कूलिङ प्रणाली र बरफको प्रयोग बढाए पनि क्षति रोक्न कठिन भइरहेको छ।

गर्मीको अवस्था झन् गम्भीर बन्दै गएपछि विभिन्न स्थानीय सरकारले आपतकालीन संयन्त्र सक्रिय बनाएका छन्। दक्षिण ग्याङसाङ प्रान्तले ‘गम्भीर’ तहको गर्मी संकट घोषणा गर्दै २० वटा सरकारी निकायलाई समेटेर विपद् व्यवस्थापन मुख्यालय सञ्चालनमा ल्याएको छ। चुङचेओङबुक प्रान्तले पनि करिब १८० सरकारी कर्मचारीलाई आपतकालीन ड्युटीमा खटाएको छ भने एक्लै बस्ने ज्येष्ठ नागरिकलगायत जोखिम समूहको निगरानीका लागि करिब १२ हजार ९ सय स्वयंसेवक परिचालन गरेको छ।

कोरिया मौसम प्रशासनले आगामी केही दिन पनि अधिकांश क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने चेतावनी दिएको छ। अत्यावश्यक कामबाहेक दिउँसोको समयमा बाहिरी काम नगर्न, पर्याप्त पानी पिउन र स्वास्थ्यमा विशेष ध्यान दिन सबैलाई आग्रह गरिएको छ।

दक्षिण कोरिया नेपाली श्रमिकको प्रमुख रोजगारी गन्तव्यमध्ये एक भएकाले विशेषगरी कृषि, निर्माण तथा बाहिरी क्षेत्रमा कार्यरत नेपालीहरूले अत्यधिक गर्मीका बेला सुरक्षा अपनाउन र स्वास्थ्यमा विशेष ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन्।