मलेसियामा नेपाली पक्राउ

मलेसियामा अध्यागमनको छापा, ३ नेपाली पक्राउ

आप्रवासन आप्रवासन

मलेसियाको अध्यागमन विभागले मारेको छापामा ३ जना नेपाली पक्राउ परेका छन् । मलेसियाको जलन टुंकु अब्दुल रहमानस्थित एक मलमा मारिएको छापामा ३ नेपालीसहित १४३ आप्रवासी कामदार पक्राउ परेको मलेसियाली पत्रिका न्यु स्ट्रेट्स टाइम्सले जनाएको हो ।

छापामा नेपालीबाहेक इन्डोनेसियाका ५६, पाकिस्तानका ३२, बङ्गलादेशका २६ र भारतका १० जना कामदार पनि समातिएका छन् । यस्तै, म्यानमारका १०, सिरियाका ४ तथा चीन र अफगानिस्तानका एक-एक जना पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा २२ देखि ४८ वर्ष उमेरका ११० जना पुरुष र ३३ जना महिला रहेको बताइएको छ । यद्यपि, उनीहरूको परिचय भने खुलाइएको छैन ।

सबै जना अध्यागमन कानुन उलङ्घन गरेको आरोपमा पक्राउ परेका हुन् । जसमध्ये अधिकांश बसोबास अनुमित नभएका, स्वीकृत म्यादभन्दा बढी बसेका र वैध कागजात नभएकाहरू छन् ।

पछिल्लो समय मलेसियाको अध्यागमन विभागले अवैध आप्रवासी कामदारमाथिको धरपकड तीव्र पार्दै लगेको छ ।

गत मे १५ सम्ममा देशभर ५ हजार ९० छापा मारिएका छन् । जस क्रममा ३४ हजार ६१५ अवैध आप्रवासी कामदार र ६८० रोजगारदाता पक्राउ परिसकेका छन् ।

मलेसियामा करिब १ लाख नेपाली अवैध हैसियतमा रहेको अनुमान छ । अध्यागमनको छापासँगै पक्राउ पर्ने नेपालीको सङ्ख्या समेत बढ्दै गएको छ ।