विदेशी कामदार भर्ना समस्या समाधान गर्न अनवरले मन्त्रालयहरूलाई एक महिनाको समय

आप्रवासन आप्रवासन

मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले विदेशी श्रमिक भर्नासम्बन्धी लामो समयदेखि रोकिएका आवेदन र प्रशासनिक समस्या एक महिनाभित्र समाधान गर्न सम्बन्धित मन्त्रालय तथा सरकारी निकायलाई कडा निर्देशन दिएका छन्। विशेषगरी रेस्टुरेन्ट तथा श्रमिक अभाव भएका प्राथमिकताका क्षेत्रमा अड्किएका आवेदन तत्काल टुंग्याउन उनले समयसीमा नै तोकेका हुन्।

प्रधानमन्त्री अनवरले विदेशी श्रमिकको अभावका कारण धेरै उद्योग तथा सेवा क्षेत्र प्रभावित भइरहेको भन्दै अब मन्त्रालयहरूबीच समन्वय गरेर आवेदन प्रक्रिया छिटो टुंग्याउनुपर्ने बताएका छन्। सरकारले आवश्यक पर्ने क्षेत्रमा मात्र श्रमिक आपूर्ति सुनिश्चित गर्ने नीति लिएको उल्लेख गर्दै उनले श्रमिक भर्ना प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउनेमा जोड दिएका छन्।

मलेसियामा पछिल्ला महिनादेखि विदेशी श्रमिक स्वीकृति, कोटा वितरण र आवेदन प्रक्रियामा ढिलाइ हुँदा विशेषगरी रेस्टुरेन्ट, होटल, सेवा तथा अन्य श्रममुखी उद्योगहरूले जनशक्ति अभावको सामना गरिरहेका छन्। व्यवसायीहरूले लामो समयदेखि सरकारसँग प्रक्रिया छिटो बनाउन माग गर्दै आएका थिए।

प्रधानमन्त्री अनवरले सम्बन्धित मन्त्रालय र विभागलाई आगामी एक महिनाभित्र प्राथमिकता निर्धारण गरेर सबै अड्किएका आवेदनको टुंगो लगाउन निर्देशन दिएका छन्। सरकारले विदेशी श्रमिक आवश्यक पर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्ने स्पष्ट संकेत दिएको छ।

यो निर्णय मलेसियामा रोजगारीको अवसर खोजिरहेका नेपालीसहित अन्य विदेशी श्रमिकका लागि पनि महत्वपूर्ण मानिएको छ। श्रमिक भर्ना प्रक्रिया सहज भएमा नयाँ माग खुल्ने, लामो समयदेखि प्रतीक्षामा रहेका आवेदन अघि बढ्ने तथा रोजगारदाताले आवश्यक जनशक्ति छिट्टै प्राप्त गर्ने अपेक्षा गरिएको छ। यद्यपि सरकारले विदेशी श्रमिक भर्ना अनियन्त्रित रूपमा नबढाउने र आवश्यक क्षेत्रलाई मात्रै प्राथमिकता दिने नीति कायम रहने स्पष्ट पारेको छ।