वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग ह्वाइट हाउसमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । ह्वाइट हाउसले दुवै भेटलाई सकारात्मक र फलदायी भएको जनाएको छ ।
दुवै नेता अमेरिकाका दिवंगत सिनेटर लिन्ड्से ग्राहमको अन्त्येष्टिमा सहभागी हुन वासिङ्टन पुगेका थिए । ग्राहम इजरायलका बलियो समर्थक तथा युक्रेनलाई अमेरिकी सैन्य सहायता उपलब्ध गराउने पक्षका प्रमुख वकिलमध्ये एक थिए। उनको यसै महिना निधन भएको थियो
भेटका क्रममा जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षालाई थप सुदृढ बनाउन अमेरिकासँग सहयोग मागेका थिए । विशेषगरी, उनले युक्रेनमै प्याट्रियट अवरोधक मिसाइल उत्पादन गर्न अनुमति दिने विषय उठाएका थिए । भेटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टुथ सोशलमा बैठक निकै राम्रो भएको उल्लेख गरेका छन् ।
त्यसपछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने सहमति जनाएको बताए । उनले भने, ‘ट्रम्पले अनुमति दिन सहमति जनाउनुभएको छ । त्यसपछि अमेरिकी शक्तिशाली रक्षा उद्योगका प्रतिनिधिहरूसँग पनि मेरो भेट भयो। अब संयुक्त उत्पादनतर्फ अघि बढ्ने आशा गरेको छु,’ । यस विषयमा ह्वाइट हाउसले भने औपचारिक पुष्टि गरेको छैन ।
रुसी ऊर्जा खरिदकर्तामाथि प्रतिबन्धको स्वागत
जेलेन्स्कीले अमेरिकी सांसदहरूसँग पनि भेट गरेका थिए। त्यसपछि अमेरिकी सिनेटले रुसी तेल र ग्यास खरिद गर्ने देशहरूमाथि प्रतिबन्ध लगाउने विधेयकलाई भारी बहुमतले पारित गरेको थियो । जेलेन्स्कीले यस्तो प्रतिबन्ध युरोप, युक्रेन र युक्रेनी जनताका लागि ठुलो समर्थनको संकेत भएको बताएका छन् ।
किन महत्त्वपूर्ण छ प्याट्रियट प्रणाली ?
प्याट्रियट संसारका थोरै यस्ता हवाई रक्षा प्रणालीमध्ये एक हो जसले ब्यालिस्टिक मिसाइललाई आकाशमै रोकेर नष्ट गर्न सक्छ । पछिल्लो समय रुसले युक्रेनका सहरहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण बढाउँदै आएको छ । यस प्रणालीले करिब १ हजार किलोमिटर दूरीसम्म उड्ने मिसाइललाई रोक्न सक्छ । एउटा ब्याट्रीले एकै समयमा आठवटा लक्ष्यलाई पछ्याउन र १०० भन्दा बढी लक्ष्य पहिचान गर्न सक्छ ।
तर यसको लागत निकै महँगो छ । एउटा प्याट्रियट अवरोधक मिसाइलको मूल्य ३० लाखदेखि ५० लाख अमेरिकी डलरसम्म पर्ने अनुमान गरिएको छ । युक्रेनले यसअघि आफूलाई २५ वटा प्याट्रियट प्रणाली आवश्यक रहेको बताएको थियो ।
नेतान्याहुसँग इरानबारे केन्द्रित वार्ता
जेलेन्स्कीपछि नेतान्याहु ह्वाइट हाउस पुगेका थिए । उनको भेट मुख्यतः इरानसँग सम्बन्धित तनाव र क्षेत्रीय सुरक्षामा केन्द्रित रहेको बताइएको छ । हालका महिनाहरूमा ट्रम्प र नेतान्याहुबीच केही विषयमा मतभेद देखिएका छन् । ट्रम्पले लेबनानमा इजरायलले निरन्तर आक्रमण जारी राखेको तथा युद्धविरामको पूर्ण पालना नगरेको भन्दै आलोचना गर्दै आएका छन् । भेटपछि ट्रम्पले टु«थ सोशलमा बैठक अत्यन्त राम्रो भएको बताएका छन् ।
नेतान्याहुले इजरायली सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पसँग इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिने साझा लक्ष्यमा स्पष्ट समझदारी भएको बताए । उनले यो अमेरिकाका राष्ट्रपतिसँग भएको आफ्नो सबैभन्दा राम्रो वार्तामध्ये एक भएको पनि उल्लेख गरे । भेट सकिएलगत्तै अमेरिकी सेनाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि इरानी पक्षबाट आश्चर्यजनक मिसाइल आक्रमणको प्रयास भएको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार सबै मिसाइललाई बिचमै अवरोध गरेर नष्ट गरिएको थियो ।
यसैबिच अमेरिकी र साउदी अरबका सेनाले पूर्वी इराकमा रहेका इरान समर्थित समूहहरूमाथि संयुक्त आक्रमण गरेका छन्। ती समूहले साउदी उर्जा पूर्वाधारमाथि ड्रोन आक्रमण गरेको आरोप लगाइएको छ ।