कुवेतस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रमाणीकरणसम्बन्धी प्रक्रिया अस्थायी रूपमा परिवर्तन भएको जानकारी दिएको छ। नेपाल सरकारको यातायात व्यवस्था विभागको अनलाइन पोर्टल केही समयदेखि अवरुद्ध रहेकाले लाइसेन्सको आधिकारिकता पुष्टि गर्न वैकल्पिक व्यवस्था लागू गरिएको दूतावासले जनाएको हो।
दूतावासले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगारीका सिलसिलामा चालक (ड्राइभर) को रूपमा कुवेत आएका नेपाली नागरिकले कुवेती ड्राइभिङ लाइसेन्स प्राप्त गर्न नेपालबाट जारी गरिएको सवारी चालक अनुमतिपत्र दूतावासबाट प्रमाणीकरण तथा अनुवाद गराउनुपर्ने हुन्छ। तर लाइसेन्सको आधिकारिकता पुष्टि गर्न प्रयोग हुँदै आएको यातायात व्यवस्था विभागको अनलाइन प्रणाली अस्थायी रूपमा सञ्चालनमा नरहेकाले हाल नयाँ कागजातका आधारमा सेवा प्रदान गरिने भएको हो।
दूतावासका अनुसार अब चालक अनुमतिपत्र प्रमाणीकरणका लागि सम्बन्धित यातायात कार्यालयबाट तयार भई त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको ‘टु हुम इट मे कन्सर्न’ (To Whom It May Concern – TWIMC) सिफारिस पत्रको सक्कल र प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
यससँगै राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा कुवेतको सिभिल आईडी वा कुवेती भिसाको प्रतिलिपि समेत पेश गर्नुपर्ने दूतावासले जनाएको छ।
दूतावासले आवश्यक कागजात पूरा गरी सेवा लिन आउने सेवाग्राहीलाई मात्र सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अनुवादसम्बन्धी सेवा उपलब्ध गराइने स्पष्ट पारेको छ। साथै, नेपालस्थित सम्बन्धित निकायबाट आवश्यक सिफारिसपत्र समयमै तयार गरेर मात्रै दूतावासमा उपस्थित हुन आग्रह गरिएको छ।
दूतावासले यो व्यवस्था यातायात व्यवस्था विभागको अनलाइन प्रणाली पुनः नियमित सञ्चालनमा नआउञ्जेलका लागि लागू गरिएको जनाएको छ। कुवेतमा चालकको रूपमा कार्यरत तथा नयाँ रोजगारीका लागि जाने तयारीमा रहेका नेपाली नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्रै सेवा लिन पनि अनुरोध गरिएको छ।
उक्त सूचना नेपाली राजदूतावास, कुवेतले २०८३ साउन १२ गते (तदनुसार २८ जुलाई २०२६) सार्वजनिक गरेको हो।
