संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले फ्री जोन (Free Zone) अन्तर्गत रोजगारीमा जाने नेपाली श्रमिकको भिसा प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ सूचना जारी गरेको छ। महावाणिज्यदूतावासले पहिलो श्रम स्वीकृतिका लागि भिसा प्रमाणीकरण गराउन आउने म्यानपावर कम्पनीहरूले अनिवार्य रूपमा तोकिएका कागजात पेश गर्नुपर्ने जनाएको हो।
महावाणिज्यदूतावासका अनुसार अब फ्री जोन रोजगारीका लागि जारी हुने भिसाको प्रमाणीकरण गर्दा निर्धारित आवेदन फाराम, भिसा भेरिफिकेसन लेटरको दुई प्रति तथा म्यानपावर कम्पनीको छाप र आधिकारिक हस्ताक्षरसहितका सम्पूर्ण भिसा कागजात पेश गर्नुपर्नेछ।
त्यसैगरी सम्बन्धित फ्री जोन कम्पनीले जारी गरेको अफर लेटर वा रोजगार सम्झौता पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। उक्त रोजगार सम्झौतामा तलब, सेवा–सुविधा तथा अन्य रोजगारीका सर्तहरू वैदेशिक रोजगार विभागबाट स्वीकृत डिमान्ड लेटरअनुसार उल्लेख गरिएको हुनुपर्ने महावाणिज्यदूतावासले स्पष्ट पारेको छ।
सूचनाअनुसार वैदेशिक रोजगार विभागबाट जारी गरिएको प्रि–अप्रुभल लेटर, स्वीकृत डिमान्ड लेटर र पावर अफ एटोर्नी, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) बाट तयार गरिएको भिसा ब्यालेन्स रेकर्ड तथा कम्पनीका आधिकारिक प्रतिनिधिको परिचय खुल्ने कागजात वा कागजात बुझाउने तथा बुझ्ने अधिकार दिएको अख्तियारी पत्र पनि पेश गर्नुपर्नेछ।
महावाणिज्यदूतावासले पेश गरिने सबै कागजात कम्पनीका आधिकारिक प्रतिनिधिबाट स्व–प्रमाणित (Self-attested) गरिएको हुनुपर्ने जनाएको छ। आवश्यक कागजात पूरा नभए भिसा प्रमाणीकरण प्रक्रिया प्रभावित हुन सक्ने भएकाले म्यानपावर कम्पनी तथा सम्बन्धित रोजगारदातालाई तोकिएको प्रक्रिया पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।
महावाणिज्यदूतावासका अनुसार यो व्यवस्था विशेषगरी दुबईको फ्री जोन कम्पनीमा पहिलो श्रम स्वीकृतिका लागि जाने नेपाली श्रमिकको भिसा प्रमाणीकरण प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र छिटोछरितो बनाउन लागू गरिएको हो।
उक्त सूचना नेपाली महावाणिज्यदूतावास, दुबईले २०८३ साउन १३ गते सार्वजनिक गरेको हो।
