ईपीएस आवेदनकर्ताको भीड बढेपछि राहदानी विभाग दुई सिफ्टमा सञ्चालन हुने

आप्रवासन आप्रवासन

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि राहदानी विभागले सेवा प्रवाहको समय विस्तार गर्ने भएको छ। विभागले सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विद्युतीय राहदानीसम्बन्धी सेवा आगामी साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको हो।

राहदानी विभागले सार्वजनिक गरेको सूचनाअनुसार उक्त अवधिमा पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिनेछ। यस व्यवस्थामार्फत सेवाग्राहीको भीड व्यवस्थापन गर्दै राहदानी वितरण तथा आवेदन प्रक्रिया थप प्रभावकारी बनाउने विभागको उद्देश्य रहेको छ।

त्यसैगरी सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत विभागले विशेष सेवा सञ्चालन गर्ने जनाएको छ। ती दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा उपलब्ध गराइने विभागले स्पष्ट पारेको छ।

राहदानी विभागका अनुसार पछिल्लो समय दक्षिण कोरियाको ईपीएस प्रणालीमार्फत रोजगारका लागि आवेदन दिने नेपालीको संख्या उल्लेख्य रूपमा बढेकाले राहदानी बनाउन आउने सेवाग्राहीको चाप पनि बढेको छ। यही अवस्थालाई ध्यानमा राख्दै सीमित अवधिका लागि सेवा समय विस्तार गरिएको हो।

विभागले सेवाग्राहीलाई आवश्यक कागजातसहित तोकिएको समयमै उपस्थित भई सेवा लिन आग्रह गर्दै नेपाली नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।

उक्त सूचना राहदानी विभागले साउन १३, २०८३ मा सार्वजनिक गरेको हो।

notice 1