मलेसियामा अवैध नेपाली

मलेसियामा अवैध नेपालीले स्वदेश फर्कन पाउने, यस्तो छ प्रक्रिया

आप्रवासन आप्रवासन

मलेसियामा अवैध हैसियतमा रहेका नेपाली कामदारले स्वदेश फर्कन पाउने भएका छन् । मलेसिया सरकारले सोमबारदेखि वैध कागजात नभएका आप्रवासीहरूका लागि आप्रवासी फिर्ती कार्यक्रम सुरु गरेको हो । यस अन्तर्गत जरिवाना तिरेर अवैध हैसियतमा रहेका नेपालीसहितका आप्रवासीले कानुनी कारबाहीको सामना नगरी स्वदेश फर्कन पाउने छन् ।

मलेसियाको गृह मन्त्रालयका अनुसार वैध पासबिना प्रवेश गरेका आप्रवासीले ५०० मलेसियन रिंगेट जरिवाना तिर्नुपर्ने छ । अनुमति अवधिभन्दा बढी बसेका आप्रवासीलाई पनि ५०० रिंगेट जरिवाना लाग्ने छ । पासको सर्तहरू उल्लङ्घन गर्नेहरूले भने ३०० रिंगेट जरिवाना बुझाउनुपर्ने छ । यस्तै, विशेष पास जारी गर्न २० रिंगेट तिर्नुपर्ने छ ।

मलेसियामा अवैध हैसियतमा एक लाख बढी नेपाली रहेको अनुमान छ ।

घर फर्कन चाहने त्यस्ता नेपालीले नजिकैको कुनै पनि अध्यागमन कार्यालयमा गई जरिवाना तिर्न सक्ने छन् । नगद नलिने भएकाले जरिवाना भुक्तानीका लागि डेबिट वा क्रेडिट कार्ड चाहिन्छ ।

त्यसपछि स्वदेश फर्कने पक्रिया पुरा गर्न पासपोर्ट वा ट्राभल डकुमेन्ट आवश्यक पर्दछ। यो कागजात नेपाली दूतावासबाट बनाउन सकिन्छ ।

यसबाहेक, २ हप्ता भित्रको हवाई टिकट खरिद गरेको हुनु पर्दछ ।

स्वदेश फिर्ती कार्यक्रम २०२६ अप्रिल ३० सम्मलाई लागु गरिएको छ ।