कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एक नेपाली श्रमिकको मृत्यु

संगम पहरी संगम पहरी

कुवेतमा रहेको चिनियाँ कम्पनीको परियोजनालाई लक्षित गरी भएको इरानी आक्रमणमा एक नेपाली श्रमिकको मृत्यु भएको छ। कुवेतको रक्षा मन्त्रालयले बिहीबार उक्त आक्रमणमा परियोजनामा कार्यरत एक नेपाली नागरिकको ज्यान गएको पुष्टि गरेको हो।

अरब टाइम्सका अनुसार आक्रमण उत्तरी कुवेतस्थित चिनियाँ कम्पनीको परियोजनामा भएको थियो। घटनापछि सम्बन्धित निकायले तत्काल उद्धार तथा सुरक्षा व्यवस्था सक्रिय बनाएको कुवेती रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अल–अत्वानले बताएका छन्। मन्त्रालयले कुवेतको सुरक्षा, सार्वभौमिकता तथा नागरिक र विदेशी बासिन्दाको सुरक्षाका लागि सशस्त्र बल उच्च तयारी अवस्थामा रहेको जनाएको छ।

कुवेतस्थित चिनियाँ दूतावासका अनुसार मृत्यु हुने नेपाली नागरिक चिनियाँ कम्पनीले सञ्चालन गरिरहेको परियोजनामा संलग्न कुवेती उपठेकेदार कम्पनीका चालक थिए। उनी सवारीसाधन चलाइरहेका बेला आक्रमणमा परेको दूतावासले जनाएको छ। चिनियाँ दूतावासले घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक तथा गैरसैनिक संरचनामाथि हुने आक्रमणको निन्दा गरेको छ। साथै सबै पक्षलाई तत्काल युद्धविराम, संवाद र तनाव अन्त्य गर्न आग्रह गरेको छ।

घटनापछि बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारले पनि कुवेतमाथिको आक्रमणको निन्दा गरेका छन्। ती देशहरूले कुवेतको सार्वभौमिकता र क्षेत्रीय सुरक्षामाथिको आक्रमण अस्वीकार्य भएको भन्दै कुवेतप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

यसैबीच कुवेतले क्षेत्रीय सुरक्षा चुनौती बढिरहेका बेला समुद्री मार्गको सुरक्षा थप सुदृढ बनाउन साउदी अरेबियामा आयोजित बाब–अल–मन्देब जलडमरूमध्यको स्वतन्त्र आवागमन सुनिश्चित गर्ने समुद्री सुरक्षा गठबन्धनको बैठकमा सहभागिता जनाएको छ। कुवेती सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल खालिद अल–शुराइयानले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा र सदस्य राष्ट्रबीच समन्वय अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

कुवेत नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य भएकाले यस घटनाले त्यहाँ कार्यरत हजारौं नेपालीमा चिन्ता थपिएको छ। घटनाबारे नेपाली निकायबाट औपचारिक विवरण सार्वजनिक हुन बाँकी रहेको छ।

स्रोत: Arab Times