मलेसियामा विदेशी श्रमिकका लागि प्रयोग हुने ‘मलेसियन इमिग्रेसन सिस्टम (MyIMMs)’ ह्याक गरी अवैध रूपमा अस्थायी रोजगारी अनुमति (Temporary Employment Visit Pass–PLKS) जारी गरेको आरोपमा १२ जनालाई न्यायिक हिरासतमा पठाइएको छ।
माइग्रेन्ट टाइम्सका अनुसार न्यायिक हिरासतमा पठाइएकामध्ये मलेसियाको अध्यागमन विभागका अधिकारी, सूचना प्रविधि (आईटी) शाखाका कर्मचारी, कम्पनी सञ्चालक, विदेशी नागरिक तथा एक प्रहरी अधिकारीसमेत रहेका छन्। उनीहरूलाई मलेसियन भ्रष्टाचार नियन्त्रण आयोग (MACC) ले संयुक्त अनुसन्धानका क्रममा पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट उक्त समूहले सन् २०११ देखि प्रयोग नभएका विदेशी श्रमिक कोटालाई दुरुपयोग गर्दै वैधानिक शुल्क नतिरी १ हजार ३०६ वटा अस्थायी रोजगारी अनुमति स्वीकृत गराएको खुलासा भएको छ। यसबाट मलेसिया सरकारलाई करिब २४ लाख रिङ्गिट (RM2.4 million) बराबर राजस्व नोक्सानी पुगेको अनुमान गरिएको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रत्येक पास स्वीकृत गराउन सम्बन्धित अध्यागमन अधिकारीलाई एक हजारदेखि छ हजार रिङ्गिटसम्म घुस दिइएको आशंका गरिएको छ। उक्त प्रकरणमा साइबर सुरक्षा विशेषज्ञ, दूरसञ्चार प्राविधिक तथा डिजिटल फरेन्सिक टोलीको सहयोगमा कम्पनीका कार्यालय र अध्यागमन कार्यालयहरूमा छापा मारिएको थियो।
कारबाहीका क्रममा करिब १ लाख ८६ हजार ३६० रिङ्गिट नगद, ७०० सिंगापुर डलर, गहना तथा मोबाइल फोन, ल्यापटपलगायतका विद्युतीय उपकरण पनि बरामद गरिएको छ।
यो घटनापछि मलेसियाको अध्यागमन विभागले MyIMMs प्रणालीको सुरक्षा, विदेशी श्रमिक भर्ना प्रक्रिया तथा डिजिटल प्रणालीको विश्वसनीयतामाथि पुनः समीक्षा गर्ने जनाएको छ। दोषी प्रमाणित हुने कर्मचारीमाथि कानुनी कारबाहीसँगै विभागीय कारबाही पनि गरिने अधिकारीहरूले बताएका छन्।
मलेसिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य भएकाले विदेशी श्रमिक भर्ना प्रणालीमा भएको यस्तो घोटालाले वैदेशिक रोजगारी व्यवस्थापन, श्रमिक अनुमतिपत्र जारी गर्ने प्रक्रिया तथा आप्रवासन प्रणालीको पारदर्शितामाथि थप प्रश्न उठाएको छ।