वैदेशिक रोजगारीमा ठगी

१० महिनामा वैदेशिक रोजगारी ठगीका ४ हजार उजुरी

आप्रवासन आप्रवासन

चालु आर्थिक वर्षको १० महिनामा ४ हजार बढी वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि वैशाखसम्ममा वैदेशिक रोजगार सम्बन्धी ४ हजार २९३ वटा ठगीका उजुरी परेका हुन् ।

यी उजुरी आकर्षक तलब सुविधाको प्रलोभनमा परी विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै ठगीमा परेका पीडितहरूले गरेका हुन् । यस्तै, विदेशमा सम्झौता अनुसार पारिश्रमिक नपाएकोसँगै राहत तथा उद्धार सम्बन्धी उजुरी समेत समावेश छन् ।

१० महिनामा त्यस्ता पीडित युवाहरूबाट ३० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरिएको छ । अझ, यो सङ्ख्या विभागमा दर्ता भएका उजुरीको मात्र हो । वैदेशिक रोजगारीमा नाममा ठगिएका तर विभागमा आएर उजुरी नगर्ने समेतलाई जोड्ने हो भने सङ्ख्या अझ अधिक हुन्छ ।

विभागमा परेका उजुरीहरू मध्ये ४६० वटा मिलापत्रमार्फत टुङ्ग्याइएको छ ।

यस्तै, १६६ वटा उजुरीमाथि छानबिन गरी मुद्दाका रूपमा अदालतमा दर्ता गरिएको छ । अदालतमा दाएर गरिएका मुद्दामा ३० करोड ३ लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति मागदाबी गरिएको विभागले जनाएको छ ।