क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अध्ययन अनुमति (Study Permit) आवेदन प्रक्रियामा आर्थिक प्रमाणसम्बन्धी जाँचलाई थप कडा बनाएको छ। नयाँ निर्देशनसँगै अब अध्ययन अनुमति आवेदन दिनेहरूले बैंक खातामा आवश्यक रकम देखाउनु मात्र पर्याप्त हुने छैन, त्यस रकमको स्रोत, स्थायित्व र विश्वसनीयता पनि प्रमाणित गर्नुपर्ने भएको छ।
क्यानडाको अध्यागमन, शरणार्थी तथा नागरिकता विभाग (IRCC) ले जुलाई २४ देखि लागू गरेको नयाँ सञ्चालन निर्देशिकाअनुसार अध्यागमन अधिकारीहरूले अब आवेदकको आर्थिक अवस्था अझ गहिरो रूपमा मूल्यांकन गर्नेछन्। अधिकारीहरूले बैंक स्टेटमेन्टसँगै आयको स्रोत, रोजगारको विवरण, आर्थिक लेनदेनको इतिहास तथा आवश्यक परे थप कागजातसमेत माग्न सक्नेछन्। यसको उद्देश्य अध्ययनका लागि आउने विद्यार्थी वास्तवमै आफ्नो सम्पूर्ण अध्ययन अवधिको खर्च धान्न सक्षम छन् वा छैनन् भन्ने सुनिश्चित गर्नु हो।
महत्त्वपूर्ण कुरा भनेको, अध्ययन अनुमति प्राप्त गर्न आवश्यक न्यूनतम रकम भने परिवर्तन गरिएको छैन। हाल क्यानडाले पहिलो वर्षको ट्युसन शुल्क र यात्रा खर्चबाहेक एकल आवेदकले कम्तीमा २२ हजार ८९५ क्यानडियन डलर बराबरको जीवनयापन खर्च देखाउनुपर्ने व्यवस्था यथावत् राखेको छ। परिवर्तन रकममा होइन, त्यस रकमको विश्वसनीयता प्रमाणित गर्ने प्रक्रियामा गरिएको हो।
IRCC का अनुसार पछिल्लो समय अध्ययन अनुमति अस्वीकृत हुने प्रमुख कारणमध्ये आर्थिक कागजातमा देखिने कमजोरी, अस्पष्ट स्रोत तथा अविश्वसनीय वित्तीय विवरण प्रमुख बनेका छन्। त्यसैले अब अध्यागमन अधिकारीहरूलाई आवेदकको आर्थिक क्षमताबारे थप प्रमाण माग्ने अधिकार दिइएको छ।
यो परिवर्तन विशेषगरी क्यानडामा उच्च शिक्षा अध्ययन गर्न योजना बनाइरहेका नेपाली विद्यार्थीका लागि महत्त्वपूर्ण मानिएको छ। शैक्षिक परामर्शदाता तथा अध्यागमन विज्ञहरूले आवेदनअघि बैंक रकम जम्मा गर्ने मात्र नभई त्यस रकम कहाँबाट आयो, कसरी संकलन भयो र अध्ययन अवधिभर खर्च धान्ने क्षमता कसरी कायम रहन्छ भन्ने विषयमा स्पष्ट प्रमाण तयार राख्न सुझाव दिएका छन्।
नयाँ व्यवस्थाले क्यानडाको अध्ययन अनुमति प्रणालीलाई थप पारदर्शी र विश्वसनीय बनाउने सरकारको अपेक्षा रहेको छ भने वास्तविक विद्यार्थीलाई प्राथमिकता दिने उद्देश्य पनि यसमा समावेश गरिएको जनाइएको छ।