साउदी अरबस्थित नेपाली महावाणिज्यदूतावासको पहलमा करिब पाँच महिनादेखि परिवारको सम्पर्कबाहिर रहेका मोरङ निवासी अनिश राईलाई सकुशल नेपाल पठाइएको छ।
महावाणिज्यदूतावासका अनुसार अनिश राई सम्पर्कविहीन भएपछि उनको खोजी कार्य निरन्तर रूपमा सञ्चालन गरिएको थियो। गत २५ जुलाई मा उनलाई अल खुम्राह क्षेत्रमा फेला पारिएपछि कन्सुलेटको संरक्षणमा राखिएको थियो।
त्यसपछि फाइनल एक्जिटसँग सम्बन्धित सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी ३ अगस्ट मा उनलाई नेपाल पठाइएको महावाणिज्यदूतावासले जनाएको छ।
महावाणिज्यदूतावासले अनिश राईलाई आफ्नो साथमा सुरक्षित रूपमा नेपाल ल्याई आफन्तको जिम्मा लगाउने व्यवस्था मिलाइदिनुभएको रामकृष्ण तामाङ प्रति हार्दिक आभार व्यक्त गरेको छ।