गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको करिब ४ टन तौलको दोस्रो चरण आज चन्द्रमामा ठोक्किँदै छ। वैज्ञानिकहरूका अनुसार उच्च गतिमा हुने यो टक्करले चन्द्रमाको सतहमा ठूलो मात्रामा धुलो उडाउनेछ, यद्यपि यसबाट पृथ्वी वा मानवलाई तत्काल कुनै जोखिम भने छैन।
स्पेसएक्सको फाल्कन–९ रकेटको उक्त टुक्रा स्कुल बसजत्रो आकारको रहेको बताइएको छ। करिब ४ मेट्रिक टन अर्थात् ४ हजार किलोग्राम तौलको यो रकेटको दोस्रो चरणलाई जनवरी २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्र अवतरण यानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो।
अमेरिकी समयअनुसार बुधबार बिहान २ बजेर ३५ मिनेट (नेपाली समयअनुसार दिउँसो करिब १ बजेर २० मिनेट) मा उक्त रकेटको टुक्रा चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार यो करिब ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ।
टक्करपछि चन्द्रमाको सतहबाट ठूलो मात्रामा धुलो उड्ने अनुमान गरिएको छ। सूर्यको प्रकाशमा उक्त धुलो चम्किन सक्ने भए पनि पृथ्वीबाट नांगो आँखाले यो दृश्य देख्न भने कठिन हुने वैज्ञानिकहरूको भनाइ छ।
स्पेसएक्सका अनुसार रकेटको टुक्रा चन्द्रमाको पश्चिमी भागमा रहेको ‘आइन्स्टाइन क्रेटर’ आसपास ठोक्किन सक्ने सम्भावना छ। उक्त क्षेत्र पृथ्वीबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न पनि कठिन मानिन्छ।
कम्पनीले यो घटना नियोजित नभएको जनाएको छ। रकेटको दोस्रो चरणको इन्धन सकिइसकेकाले अहिले त्यसलाई नियन्त्रण गरेर अर्को दिशातर्फ मोड्न सम्भव नभएको स्पेसएक्सले स्पष्ट पारेको छ।
सामान्यतया कुनै पनि रकेटले आफ्नो पेलोडलाई निर्धारित कक्षमा पुर्याएपछि त्यसको बाँकी चरण पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेर जलेर नष्ट हुने वा समुद्रमा खस्ने गर्छ। तर जनवरी २०२५ मा चन्द्र अवतरण यान प्रक्षेपणका क्रममा सामान्य पृथ्वीनजिकका अभियानभन्दा बढी ऊर्जा आवश्यक परेकाले फाल्कन–९ को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्किन सकेन। त्यसयता यो अन्तरिक्षमा रहेका अन्य हजारौं टुक्रासँगै अनियन्त्रित रूपमा परिक्रमा गरिरहेको थियो।
यस वर्षको सुरुवातमै वैज्ञानिकहरूले उक्त रकेटको टुक्रा अन्ततः चन्द्रमामा पुगेर अन्त्य हुने कक्षमा रहेको पत्ता लगाएका थिए। त्यसअघि नै यसको बाँकी इन्धन पनि सकिइसकेको थियो।
रिपोर्टअनुसार स्पेसएक्समा नासा विज्ञान तथा ड्रागन कार्यक्रमकी निर्देशक जुलियाना शाइमनले सौर गतिविधि र गुरुत्वाकर्षण शक्तिको संयुक्त प्रभावका कारण रकेटको टुक्रा चन्द्रमातर्फ धकेलिएको बताएकी छन्।
उनका अनुसार यस घटनाबाट तत्काल कुनै खतरा छैन। तर यसले अन्तरिक्षमा बाँकी रहने रकेटका अवशेष तथा अन्य उपकरणको सुरक्षित व्यवस्थापन अझ चुनौतीपूर्ण बन्दै गएको देखाएको छ।
चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोक्किने घटना निकै दुर्लभ मानिन्छ। सन् २०२२ को मार्चमा चिनियाँ रकेटको एउटा चरण चन्द्रमामा ठोक्किएको थियो। त्यसअघि सन् २००९ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले वैज्ञानिक अध्ययनका लागि नियोजित रूपमा रकेटको एउटा भाग चन्द्रमाको सतहमा ठोक्काएको थियो। त्यसबाट उडेको धुलो र सतहको संरचनाबारे अध्ययन गरिएको थियो।
जुलियाना शाइमनका अनुसार नासा र स्पेसएक्सले भविष्यमा चन्द्रमामा यस्ता अनियन्त्रित टक्कर हुन नदिने उपायबारे छलफल गरिरहेका छन्।
नासाले अर्बौं डलरको आर्टेमिस कार्यक्रमअन्तर्गत यस दशकको अन्त्यसम्म चन्द्रमामा आधार निर्माण गर्ने र नियमित रूपमा अन्तरिक्षयात्री पठाउने योजना अघि बढाइरहेको छ।
मानवसहितका चन्द्र अभियान विस्तार हुँदै जाँदा अनियन्त्रित रूपमा घुमिरहेका रकेटका अवशेष तथा अन्य अन्तरिक्ष फोहोरले चन्द्रमामा रहेका उपकरण र भविष्यका अभियानलाई क्षति पुर्याउन सक्ने जोखिमप्रति वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्।