अमेरिकाले आफ्नो भूमिमा पुनः सैन्य आक्रमण गर्यो भने खाडी क्षेत्रका ऊर्जा पूर्वाधार, अमेरिकी सैन्य सम्पत्ति तथा अन्य रणनीतिक संरचनामाथि व्यापक जवाफी आक्रमण गर्ने चेतावनी इरानले दिएको छ ।
पाँच जना जानकार स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको समाचारअनुसार इरानले यो सन्देश उच्चस्तरीय कूटनीतिक सम्पर्कमार्फत साउदी अरब, कतार, टर्की, ओमानलगायत पश्चिम एशियामा अमेरिकाका निकट मित्र देशहरूलाई पठाएको हो ।
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई २८ मा इरानको ऊर्जा पूर्वाधारमाथि सम्भावित सैन्य आक्रमणको संकेत दिएपछि आएको हो । ट्रम्पले आवश्यक परे इरानको ऊर्जा सञ्जाल र अन्य महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउन सकिने बताएका थिए । त्यसपछि इरानले क्षेत्रीय मित्र राष्ट्रहरूसँग तीव्र कूटनीतिक पहल सुरु गर्दै सम्भावित युद्ध रोक्न प्रयास गरिरहेको बताइएको छ ।
रोयटर्सका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले साउदी अरब, कतार र टर्कीका विदेश मन्त्रीहरूसँग टेलिफोन वार्ता गरेका थिए । उनले पाकिस्तानका सेना प्रमुखसँग पनि छलफल गरेका थिए । ती सबै वार्ताको मुख्य उद्देश्य अमेरिकामाथि कूटनीतिक दबाब सिर्जना गर्नु र सम्भावित नयाँ सैन्य आक्रमण रोक्नु रहेको बताइएको छ । उनले अमेरिकासँग निकट सम्बन्ध भएका खाडी राष्ट्रहरूलाई राष्ट्रपति ट्रम्पसँग संवाद गरी नयाँ आक्रमण नगर्न आग्रह गर्न अनुरोध गरेका थिए ।
एक वरिष्ठ क्षेत्रीय कूटनीतिज्ञका अनुसार अराघचीले प्रत्येक वार्तामा एउटै सन्देश दिएका थिए । ‘हामी बदला लिन तयार छौँ, तर कूटनीतिक समाधान खोज्नु नै यस क्षेत्रभरि व्यापक तनाव र विनाशबाट बच्ने उत्तम तरिका हो,’ सन्देशमा भनिएको थियो । ‘इरानी चेतावनी स्पष्ट थियो: यदि अमेरिकाले इरानको पूर्वाधारलाई लक्षित गर्यो भने, उनीहरूले खाडी ऊर्जा सुविधाहरू र अन्य क्षेत्रीय लक्ष्यहरूमा आक्रमण गरेर बदला लिनेछन्,’ खाडीका एक स्रोतले भनेको छ ।
विश्लेषकहरूका अनुसार यस्तो चेतावनीले खाडी राष्ट्रहरूलाई अत्यन्त कठिन अवस्थामा पुर्याएको छ । एकातिर उनीहरू अमेरिकाका सुरक्षा साझेदार हुन् भने अर्कोतर्फ उनीहरूको अर्थतन्त्र मुख्य रूपमा तेल र ग्यास निर्यातमा निर्भर छ । यदि क्षेत्रीय युद्ध चर्कियो भने ऊर्जा उत्पादन र निर्यातमा ठुलो असर पर्न सक्छ, जसले विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पार्न सक्छ।
स्रोतहरूका अनुसार त्यसपछि साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए । उनले तत्काल सैन्य कारबाही नगर्न, वार्तालाई प्राथमिकता दिन र युद्धविराम कायम राख्न आग्रह गरेका थिए । साउदी अरबको धारणा अनुसार थप सैन्य आक्रमणले कुनै स्थायी समाधान नदिई सम्पूर्ण क्षेत्रलाई अझ अस्थिर बनाउनेछ । यद्यपि साउदी अरबले आफ्नो राष्ट्रिय सुरक्षामा कुनै खतरा उत्पन्न भए त्यसको सैन्य जवाफ दिन तयार रहेको पनि स्पष्ट पारेको छ ।
अर्को खाडी स्रोतका अनुसार यदि कुनै विदेशी शक्तिले साउदी भूमिमा आक्रमण गर्यो भने त्यसको प्रतिकार गरिनेछ । कतार, ओमान र साउदी अरबले पनि अमेरिका र इरानलाई वार्तामा फर्किन आग्रह गरेका छन्। उनीहरूका अनुसार नयाँ युद्ध सुरु भए सम्पूर्ण खाडी क्षेत्र अस्थिर बन्न सक्छ । यसले विश्वव्यापी तेल आपूर्ति प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय व्यापारमा पनि ठुलो असर पार्न सक्छ । इरानी नेतृत्वले विगतदेखि नै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा हटाउनुपर्ने माग गर्दै आएको छ । साथै खाडी राष्ट्रहरूले अमेरिकालाई गुप्तचर सहयोग नगर्नुपर्ने धारणा पनि दोहोर्याउँदै आएको छ । इरानको विश्वास अनुसार त्यस्ता सूचनाहरू अमेरिकाले आफ्ना सैन्य कारबाहीमा प्रयोग गर्न सक्छ ।
एक इरानी अधिकारीका अनुसार यदि अमेरिकाले पुनः आक्रमण गर्यो भने इरानले ऊर्जा उद्योग मात्र होइन, विद्युत् सञ्जाल, पानी आपूर्ति प्रणाली, यातायात मार्ग, बन्दरगाह तथा तेल क्षेत्रहरूलाई समेत निशाना बनाउन सक्छ । उनले भने, ‘यदि हाम्रो पूर्वाधारमा क्षति पुर्याइयो भने त्यसको जवाफमा अझ ठुलो क्षति पुर्याइनेछ,’ ।
इरानी अधिकारीहरूले सन् २०१९ मा साउदी अरबको अराम्को कम्पनीका अब्काइक र खुराइस तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा मिसाइल आक्रमणको उदाहरण पनि दिएका छन् । त्यस घटनाले केही समयका लागि साउदी अरबको आधाभन्दा बढी कच्चा तेल उत्पादन बन्द भएको थियो र विश्व तेल बजारमा ठुलो उतारचढाव आएको थियो । यस उदाहरणमार्फत इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार अझै पनि संवेदनशील रहेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार इरानको पछिल्लो रणनीति प्रत्यक्ष युद्ध सुरु गर्नु भन्दा पनि सम्भावित युद्धको आर्थिक मूल्य अत्यन्त महँगो हुने सन्देश दिनु हो । यदि खाडी क्षेत्रका ऊर्जा केन्द्रहरूमा आक्रमण भयो भने विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्छ । यसले विश्वव्यापी महँगी बढाउने, उद्योगहरूमा उत्पादन लागत वृद्धि गर्ने तथा धेरै देशको आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने सम्भावना रहेको छ ।
अमेरिकाका लागि पनि परिस्थिति सहज छैन । यदि उसले सैन्य कारबाही अघि बढायो भने क्षेत्रीय युद्ध फैलिन सक्छ । यदि वार्तालाई प्राथमिकता दियो भने केही राजनीतिक समूहले त्यसलाई कमजोरीका रूपमा लिन सक्छन् । त्यसैले वासिङ्टन अहिले कूटनीतिक र सैन्य विकल्पबिच सन्तुलन कायम गर्ने प्रयासमा रहेको मानिएको छ ।
वरिष्ठ इरानी अधिकारीका अनुसार ट्रम्पले यतिबेला दुई अप्रिय विकल्पहरू सामना गरिरहेका छन्: खाडीलाई घेर्न सक्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा बाधा पुर्याउन सक्ने द्वन्द्व बढाउने, वा वासिङ्टनले खोजेको निर्णायक विजयबाट वञ्चित हुने वार्ता परिणाम स्वीकार गर्ने । सम्झौताको प्रमुख बाधामध्ये एक भनेको तेहरानलाई विजयी भएको दाबी गर्न दिनेमा वाशिङ्टनको अनिच्छा हो । ‘अमेरिका आफूले युद्ध जितेको प्रमाणको रूपमा प्रस्तुत गर्न सक्ने कुरा चाहन्छ,’ ती कूटनीतिज्ञले भने ।