इजरायली राजदूतले भने : नयाँ श्रम सम्झौतामा नेपाल हिच्किचाइरहेको छ

आप्रवासन आप्रवासन

नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले नयाँ श्रम सम्झौतामा हस्ताक्षर गर्न नेपाल सरकार हिच्किचाइरहेको बताएका छन् ।

नेपाली कामदारका लागि आकर्षक कमाइ हुने भए पनि केयरगिभिङ र कृषि क्षेत्रको नयाँ सम्झौतामा सरकारले बेवास्ता गरेको उनले आरोप लगाए । सरकारकै अलमलका कारण सम्झौता प्रक्रिया अघि बढ्न नसकेको उनको आरोप छ ।

उनका अनुसार इजरायल जान कामदारले बुझाउनुपर्ने १ हजार ५ सय अमेरिकी डलरको सेवा शुल्कलाई लिएर नेपाल सरकार अन्योलमा छ ।

यो रकम स्वास्थ्य बीमालगायत सेवाबापत कानुनी रूपमा बुझाउनुपर्ने उनले बताए । ‘यो रकम कुनै म्यानपावर कम्पनी वा भ्रष्टाचारका लागि होइन । न त यसमा दूतावासको कुनै संलग्नता रहन्छ,’ पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यसबाट कामदारले स्वास्थ्य बीमालगायत २४सै घण्टा उपलब्ध हुने आकस्मिक सेवाहरूको प्रत्याभूति पाउँछन् ।’

इजरायली संसद्ले सन् २००१ मै कानुन बनाइसकेको हुनाले रकम भुक्तानी अनिवार्य हुने उनको भनाइ छ । 

इजरायलमा सबै देशका कामदारले उल्लेख्य कमाइ गर्ने दाबी गर्दै राजदूत बासले न्यूनतम पारिश्रमिक नै मासिक २ हजार १ सय अमेरिकी डलर हुने प्रस्ट्याए । ६३ महिनामा हरेक नेपाली कामदारले १ लाख ३० हजार डलर अर्थात् करिब २ करोड नेपाली रुपैयाँ आम्दानी गर्ने उनी बताउँछन् ।

‘खाडी मुलुकमा ६३ महिनाको अवधिमा औसत २५ हजार डलर मात्र कमाउन सकिन्छ । तर इजरायलमा सोही अवधिमा कामदारले १ लाख ३२ हजार डलर कमाउन सक्छन्,’ उनी अघि भन्छन्, ‘सेवा शुल्क घटाउँदा पनि कामदारको हातमा १ लाख ३० हजार डलरभन्दा बढी बच्छ । तर, नेपाल सरकार यसैमा आनाकानी गरिरहेको छ ।’ 

हाल इजरायलमा रहेका संस्थामा नेपालबाट केयरगिभर लैजान सीमित कोटा छुट्याइएको छ । नागरिकको घरमै गएर गरिने केयरगिभिङ क्षेत्रमा भने नेपाली कामदारको माग निकै उच्च रहेको राजदूत बासले जानकारी दिए । ‘संस्थागत केयर सेन्टरहरूमा लैजाने इजरायली संस्थाको संख्या निश्चित हुने भएकाले त्यहाँ थोरै नेपाली पुग्छन्,’ उनी भन्छन्, ‘घरमै गएर गरिने स्याहारमा माग निकै ठूलो छ । नयाँ प्रोटोकल स्वीकृत हुनासाथ धेरै संख्यामा नेपाली कामदारले इजरायलमा रोजगारीको अवसर पाउनेछन् ।’