म्यानपावर कम्पनीले ‘कोटा सकियो’ भन्दै फर्काउन नपाउने

आप्रवासन आप्रवासन

काठमाडौँ । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई ‘कोटा सकिसकेको’ बहाना बनाएर आवेदन लिन अस्वीकार गर्ने मेनपावर व्यवसायीहरूलाई वैदेशिक रोजगार विभागले कडाइ गरेको छ।

विभागले सूचना जारी गर्दै विज्ञापन प्रकाशित भएपछि निर्धारित अवधिभर आवेदन दिन आउने सबै आवेदकको निवेदन लिन इजाजतपत्रवाला संस्था (मेनपावर) हरूलाई निर्देशन दिएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कामदार पठाउने पूर्वस्वीकृति पाएपछि मेनपावर कम्पनीले कम्तीमा सात दिनको अवधि दिएर राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ। तर, ७ दिनको म्याद दिएर विज्ञापन गरिए पनि निवेदन दिन जाँदा ‘कोटा सकिसकेको’ भन्दै फर्काएर छनोट प्रक्रियाबाटै वञ्चित गराएको व्यापक गुनासो आएपछि विभागले ध्यान ध्यानाकर्षण गराएको हो।

अबदेखि वैदेशिक रोजगारीमा पठाउन सात दिनको म्याद दिई सूचना प्रकाशन गर्दा सो अवधिभित्र निवेदन दिन आउने सबै आवेदकहरूको आवेदन अनिवार्य रूपमा सङ्कलन गर्नुपर्नेछ।

सातौँ दिनपछि मात्रै सबै आवेदकहरूको एकमुष्ट सूची सम्बन्धित मेनपावरको वेबसाइटमा प्रकाशन गरेर छनोट प्रक्रिया सुरु गर्नुपर्नेछ। साथै छनोट प्रक्रियामा सबै आवेदकहरूलाई समावेश गराउनुपर्नेछ र छनोट पूरा भएपछि छनोट नभएका व्यक्तिहरूलाई के कति कारणले छनोट नभएको हो सोको स्पष्ट कारणसहित जानकारी दिने व्यवस्था मिलाउन पनि विभागले सूचित गरेको छ।

 

764711945_1349680460689733_2448195056974162500_n