अमेरिकामा H-1B सहित विभिन्न रोजगारमा आधारित अस्थायी भिसामा काम गरिरहेका विदेशी कामदारले जागिर गुमाएपछि पाउँदै आएको अधिकतम ६० दिने ‘ग्रेस पिरियड’ हटाउने प्रस्ताव अघि बढाइएको छ। अमेरिकी गृह सुरक्षा मन्त्रालयअन्तर्गतको नागरिकता तथा अध्यागमन सेवा (USCIS) ले प्रस्तावित नियम ह्वाइट हाउसको अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (OMB) मा समीक्षाका लागि पठाएको हो।
तर, यो व्यवस्था तत्काल लागू भइसकेको भने होइन। प्रस्ताव अहिले OMB को समीक्षामा रहेकाले हालका लागि H-1B कामदारले जागिर गुमाएपछि पाउँदै आएको अधिकतम ६० दिने सुविधा कायमै छ। प्रस्ताव सार्वजनिक भई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अन्तिम नियम जारी भएपछि मात्रै नयाँ व्यवस्था लागू हुन सक्छ। हालको नियमअनुसार H-1B कामदारको जागिर गुमेपछि उसले अधिकतम ६० दिनसम्म अमेरिकामा बस्न पाउँछ। यस अवधिमा नयाँ रोजगारदाता खोज्ने, H-1B को प्रक्रिया अघि बढाउने वा केही अवस्थामा अर्को भिसा वा अध्यागमन स्टाटसका लागि आवेदन दिने अवसर हुन्छ।
नयाँ कम्पनीले H-1B का लागि प्रक्रिया अघि बढाएमा केही अवस्थामा आवेदन स्वीकृत हुनुअघि नै नयाँ कम्पनीमा काम सुरु गर्नसमेत सकिने व्यवस्था छ। यदि ६० दिनभित्र नयाँ जागिर भेटिएन र आफ्नो कानुनी स्टाटस कायम राख्न आवश्यक प्रक्रिया पनि अघि बढाइएन भने सम्बन्धित व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ। अमेरिकी सरकारले पछिल्लो समय आफ्नो अध्यागमन प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने भन्दै विभिन्न नियममा परिमार्जनको तयारी गरिरहेको छ। प्रस्तावित परिवर्तन कार्यान्वयनमा आएमा अमेरिकामा अस्थायी रोजगार भिसामा रहेका विदेशी कामदारका लागि जागिर गुमाएपछिको अवस्था थप चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि अमेरिकाले पछिल्ला वर्षहरूमा ठूलो संख्यामा अवैध आप्रवासनको चुनौती सामना गरिरहेको भन्दै अध्यागमन प्रणालीमा आवश्यक परिमार्जन गर्नुपर्ने बताउँदै आएका छन्।
यसैबीच, अमेरिकामा लामो समयदेखि बसिरहेका H-1B लगायतका अस्थायी भिसावाहकका लागि भने स्थायी बसोबासको नयाँ बाटो खोल्ने छुट्टै विधेयक पनि अमेरिकी सिनेटमा पेस भएको छ। प्रस्तावित विधेयकमा अमेरिकामा लगातार सात वर्षदेखि बसिरहेका व्यक्तिलाई ग्रिन कार्डका लागि आवेदन दिन अनुमति दिने व्यवस्था प्रस्ताव गरिएको छ।
ग्रिन कार्डलाई आधिकारिक रूपमा ‘Permanent Resident Card’ भनिन्छ। यसले अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अनुमति दिन्छ।
यसरी हेर्दा अमेरिकाले विदेशी कामदारसम्बन्धी अध्यागमन नीतिमा एकातर्फ अस्थायी कामदारका लागि नियम कडा बनाउने तयारी गरेको छ भने अर्कोतर्फ लामो समयदेखि अमेरिकामा बसिरहेका केही विदेशीलाई स्थायी बसोबासका लागि आवेदन दिने बाटो खोल्ने प्रस्ताव पनि अघि बढेको छ। तर, दुवै व्यवस्था हाल प्रस्ताव वा विधेयकको चरणमै रहेकाले तत्काल लागू हुने नियम भने होइनन्।