विश्वविद्यालय अनुदान आयोगले नेपालको उच्च शिक्षा प्रणालीलाई थप लचिलो, आधुनिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले ‘एकेडेमिक क्रेडिट बैङ्कको स्थापना र सञ्चालन निर्देशिका, २०८२’ जारी गरेको छ । मुलुकभित्र एवम् बाहिर विद्यार्थीले उच्च शिक्षा अध्ययन गरी आर्जन गरेको शैक्षिक क्रेडिट सञ्चय र ट्रान्सफर गरी उच्च शिक्षामा विद्यार्थीहरूको गतिशीलता तथा निरन्तरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोगले निर्देशिका जारी गरेको हो ।
अध्ययनका क्रममा विदेशबाट नेपाल फर्किनुपरेमा अब नेपालकै विश्वविद्यालयमा पढाइलाई निरन्तरता दिन मिल्ने भएको छ । नेपालका जुनसुकै विश्वविद्यालयमा सहजरूपमा क्रेडिट ट्रान्सफर गरी अध्ययनलाई निरन्तरता दिन सकिने निर्देशिका आयोगले तयार पारेको छ । अध्ययनकै क्रममा विदेश जानुपर्ने अवस्था आएमा विद्यार्थीको क्रेडिट सुरक्षित रहने व्यवस्था निर्देशिकामा गरिएको छ । अध्ययन स्थगन गरी विदेश गएका विद्यार्थीहरूले पछि फर्किएर आफ्नो पढाइ सहजै पूरा गर्न सकुन् भन्ने उद्देश्यले ‘क्रेडिट बैंक’ को अवधारणा कार्यान्वयनमा ल्याइएको हो ।
विदेशमा अध्ययन गरी फर्किएका विद्यार्थीले त्यहाँ आर्जन गरेको मान्यता प्राप्त क्रेडिटलाई विश्वविद्यालय अनुदान आयोगको ‘एकेडेमिक क्रेडिट बैंक’मा जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । नेपाल तथा विदेशका मान्यताप्राप्त विश्वविद्यालय वा उच्च शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक प्रगतिलाई डिजिटल रूपमा सुरक्षित राख्न र सोको उपयोग गर्न ‘एकेडेमिक क्रेडिट बैंक’ सम्बन्धी व्यवस्था ल्याइएको छ ।
बैंकले विद्यार्थीहरूले अध्ययनका क्रममा आर्जन गरेको ‘क्रेडिट’ (अङ्क/भार) लाई प्रमाणीकरण, सञ्चय र ट्रान्सफर (स्थानान्तरण) गर्ने डिजिटल तथा भर्चुअल सुविधा प्रदान गर्नेछ । यसका लागि प्रत्येक विद्यार्थीलाई डिजिटल रूपमा व्यक्तिगत ‘एकेडेमिक बैंक खाता’ खोल्ने सुविधा दिइने निर्देशिकामा भनिएको छ । खाता खोल्नका लागि विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र र मान्यताप्राप्त संस्थाबाट प्राप्त क्रेडिट विवरण आयोगसमक्ष पेस गर्नुपर्नेछ, जसलाई सम्बन्धित शैक्षिक संस्थाले सिधै प्रमाणीकरण गरी पठाएपछि मात्र मान्यता दिइने उल्लेख छ ।
यो व्यवस्था लागू भएसँगै विद्यार्थीहरूले एक शैक्षिक संस्थाबाट अर्कोमा अध्ययन स्थानान्तरण गर्दा पहिले हासिल गरेको क्रेडिट सहजै प्रयोग गर्न सक्नेछन् । तर, त्यसका लागि कम्तीमा एउटा सेमेस्टर वा वर्ष पूरा गरेको हुनुपर्छ । अर्को विश्वविद्यालय वा संस्थामा क्रेडिट ट्रान्सफर गर्नका लागि विद्यार्थीले तोकिएको ढाँचामा आयोगमा निवेदन दिनुपर्नेछ र अध्ययन गर्न चाहेको विश्वविद्यालयले उक्त क्रेडिट स्वीकार गर्ने निश्चित भएपछि विवरण उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । यसरी एकेडेमिक क्रेडिट बैंकमा जम्मा गरिएको क्रेडिट स्नातक तहका लागि ७ वर्ष र स्नातकोत्तर तहका लागि ५ वर्षभित्र ट्रान्सफर तथा प्रयोग गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।
निर्देशिका अनुसार विद्यार्थीले आफूले आर्जन गरेको क्रेडिट स्नातक तहको हकमा ७ वर्षभित्र र स्नातकोत्तर तहको हकमा ५ वर्षभित्र ट्रान्सफर गरी उपयोग गरिसक्नुपर्नेछ । कुनै पनि विश्वविद्यालयबाट प्राप्त गर्ने कुल क्रेडिटको अधिकतम ५० प्रतिशतसम्म मात्र ट्रान्सफर गर्न पाइनेछ । अनिवार्य रूपमा सेमेस्टर वा वर्ष पूरा भएको क्रेडिट मात्र रूपान्तरण हुनेछ ।
विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० बमोजिम ल्याइएको निर्देशिकाले नेपालभित्रका सङ्घीय तथा प्रादेशिक विश्वविद्यालय र शिक्षण संस्थाहरूमा डिजिटल प्लेटफर्मका रूपमा ‘एकेडेमिक क्रेडिट बैङ्क’ को स्थापना गर्ने व्यवस्था गरेको छ । यस प्रणालीमार्फत उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूले १५ देखि १६ घण्टाको सिकाइ अभ्यासबापत प्राप्त गर्ने शैक्षिक ‘क्रेडिट’ लाई आफ्नै व्यक्तिगत ‘एकेडेमिक बैङ्क खाता’ मा सञ्चय गर्न र आवश्यकताअनुसार अर्को विश्वविद्यालय वा संकायमा ट्रान्सफर गर्न सक्नेछन् ।
अब कुनै विद्यार्थीले एउटा कलेज वा विश्वविद्यालय छाडेर अर्कोमा भर्ना हुन चाहेमा वा बिचमा नै पढाइ रोकिएर पछि फेरि सुरु गर्न चाहेमा पहिले पढेको विषयको अङ्क खेर जाने छैन । त्यो अङ्क नयाँ कलेजमा सजिलै सार्न (ट्रान्सफर गर्न) सकिनेछ ।
यो व्यवस्थाले स्वदेश तथा विदेशका मान्यताप्राप्त संस्थामा अध्ययन गर्ने विद्यार्थीको गतिशीलतालाई सहज बनाउनुका साथै कुनै कारणवश बिचमै पढाइ छुटेकाहरूलाई पुनः निरन्तरता दिन राहत पुर्याउनेछ । क्रेडिट ट्रान्सफर र उपयोगका लागि आयोगले स्पष्ट मापदण्ड र सीमा निर्धारण गरेको छ ।
निर्देशिका अनुसार विद्यार्थीले आफूले आर्जन गरेको क्रेडिट स्नातक तहको हकमा ७ वर्षभित्र र स्नातकोत्तर तहको हकमा ५ वर्षभित्र ट्रान्सफर गरी उपयोग गरिसक्नुपर्नेछ । कुनै पनि विश्वविद्यालयबाट प्राप्त गर्ने कुल क्रेडिटको अधिकतम ५० प्रतिशतसम्म मात्र ट्रान्सफर गर्न पाइनेछ । अनिवार्य रूपमा सेमेस्टर वा वर्ष पूरा भएको क्रेडिट मात्र रूपान्तरण हुनेछ ।
विद्यार्थीले अध्ययन गर्न चाहेको सम्बन्धित विश्वविद्यालय वा संस्थाको पाठ्यक्रम र विषयको समानताका आधारमा प्राज्ञिक परिषद्को स्वीकृतिपछि मात्र यो सुविधा पाइनेछ । ट्रान्सफर भई आएको क्रेडिट विवरण विद्यार्थीको अन्तिम शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) मा अनिवार्य रूपमा उल्लेख गरिनेछ । नेपालका उच्च शैक्षिक संस्थाहरूमा शैक्षिक मूल्याङ्कनलाई एकरूपता दिन आयोगले निरन्तर मूल्याङ्कन र अन्तिम परीक्षाको आधारमा फोर–पोइन्ट ग्रेडिङ स्केल लागू गरेको छ ।
विद्यार्थीको विवरण र सञ्चित क्रेडिटको सुरक्षाका लागि अत्याधुनिक साइबर सुरक्षा मापदण्ड, डाटा एन्क्रिप्शन र प्रयोगकर्ता प्रमाणीकरण प्रणाली अपनाइने उल्लेख छ । यो व्यवस्था लागू गर्न सबै विश्वविद्यालयहरूलाई आफ्ना नियम संशोधन गर्न र पाठ्यक्रम अद्यावधिक गर्न आह्वान गरिएको छ ।