सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्य रूपमा अभिमुखीकरण तालिमको व्यवस्था गरेको छ । त्यसका लागि अभिमुखीकरण तालिम सञ्चालन सम्बन्धी कार्यविधि समेत छ ।
अभिमुखीकरण तालिममा श्रम स्वीकृति लिएर विदेश जाने युवाहरूलाई सम्बन्धित देशको परिवेश, कानुन लगायतका विषयबारे अवगत गराइन्छ । यस्तै, तालिममा विदेशमा समस्यामा परे के गर्ने जस्ता विषय समेत समेटिएको हुन्छ । त्यसैले अभिमुखीकरण तालिम विदेश जानेहरूका लागि निकै महत्त्वपूर्ण हुन्छ ।
तर पछिल्लो समय अभिमुखीकरण तालिम जस्तो महत्त्वपूर्ण विषयमा समेत खेलबाड हुने गरेको पाइएको छ । तालिम प्रदायक संस्थाहरूले प्रशिक्षार्थी बिनै तालिम सञ्चालन गर्ने गरेको गुनासो बढेको हो ।
यस्तै, स्रोत साधनबिनै र मापदण्ड समेत पुरा नगरी तालिम चलाइने गरेको गुनासो छ ।
यस्ता गुनासो वैदेशिक रोजगार विभागसम्मै पुग्न थालेपछि विभागले एक सूचना जारी गरेर त्यसो नगर्न सम्बन्धित संस्थाहरूलाई चेतावनी दिएको छ ।
विभागले श्रमिक पर्याप्त मात्रामा सुसूचित नभए वैदेशिक रोजगारी सुरक्षित नहुने भन्दै संस्थाहरूलाई सचेत गराएको छ । विभागबाट नियमित तथा आकस्मिक रूपमा अनुगमन हुने र कार्यविधि अनुरूप तालिम सञ्चालन नभएको पाइए कारबाही गर्ने चेतावनी विभागको छ ।