नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष राखेका १५ बुँदे माग पूरा गराउन दबाब बढाउँदै आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। संघले यसअघि ‘शून्य समय’ घोषणा गर्दै सरकारबाट नीतिगत सुधार नभए भदौ १ गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउने काम रोक्ने चेतावनी दिइसकेको छ।
संघका अनुसार विभागले विभिन्न समयमा ७५० भन्दा बढी म्यानपावर कम्पनीमाथि गरेको कारबाही फिर्ता गर्नुपर्ने, श्रमिकबाट लिइने सेवा शुल्क वैज्ञानिक रूपमा निर्धारण गर्नुपर्ने, श्रमिक लक्षित गन्तव्य मुलुकको हवाई भाडा घटाउनुपर्ने र कृत्रिम अभाव अन्त्य गर्नुपर्नेलगायत माग छन्। नयाँ श्रम गन्तव्यका मागपत्र प्रमाणीकरण, युरोपेली मुलुकमा रोजगारी विस्तार, दक्षिण कोरियाको ई–७ भिसा, जापानको ईएसडी कार्यक्रम तथा महिला घरेलु कामदारसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने माग पनि संघले अघि सारेको छ।
संघले सरकारलाई दिएको १५ दिनको समयभित्र माग सम्बोधन नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ। आन्दोलनको पहिलो चरणमा विभागमा प्लेकार्डसहित प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ। त्यसपछि प्रधानमन्त्री तथा युवा, श्रम तथा रोजगार मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, वार्ता तथा संवाद गर्ने, कालोपट्टी बाँधेर विरोध जनाउनेलगायत कार्यक्रम सञ्चालन गर्ने संघले जनाएको छ।
संघले हाल ‘शून्य समय’ मानेर साउन २२ गतेसम्म श्रम स्वीकृति लिएका श्रमिकलाई भदौ १ गतेभित्र उडाइसक्नुपर्ने जनाएको छ। माग सम्बोधन नभए भदौ १ गतेदेखि बृहत् आन्दोलनमा जाने र त्यसका लागि विभिन्न उपसमिति गठन तथा घटक संस्थासँग समन्वय भइरहेको संघले जनाएको छ।
संघको आन्दोलन अघि बढेमा यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीको तयारीमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति तथा विदेश प्रस्थान प्रक्रियामा पर्न सक्ने देखिएको छ।