सन् २०२४ मा बेलायतमा कुल बसाइँ सराइ ५० प्रतिशतले घटेको पाइएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले एक प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षमै कुल बसाइँ सराइ दर आधाले घटेको जनाएको हो ।
कार्यालयका अनुसार सन् २०२३ मा ८ लाख ६० हजार मानिसले बेलायतमा बसाइँ सरेका थिए । तर सन् २०२४ मा बेलायत बसाइँ सर्नेको सङ्ख्या ४ लाख ३१ हजारमा झरेको छ ।
अझ, सन् २०२२ मा बेलायत बसाइँ सर्ने मानिसको सङ्ख्या ८ लाख ७२ हजार थियो । अध्ययन तथा वर्किङ भिसामा गरिएको कडाइका कारण बेलायत प्रवेश गर्नेको सङ्ख्या व्यापक घटेको कार्यालयको भनाई छ ।
सन् २०२४ मा गैर युरोपेली देशबाट कामका लागि बेलायत पुग्नेको सङ्ख्यामा मात्रै ४९ प्रतिशत अर्थात् १ लाख ८ हजारले कमी आएको छ । यस्तै, अध्ययनका लागि बेलायत जानेको सङ्ख्या १७ प्रतिशत र तीनका डिपेन्डेन्ट ८७ प्रतिशतले घटेका छन् ।
यो तथ्याङ्कले बेलायती प्रधानमन्त्री किएर स्टार्मरको सरकारलाई भने हाइसन्चो बनाइदिएको छ । स्टार्मरको सरकार आप्रवासन घटाउने वाचासहित सरकारमा आएको हो र त्यसमा सफलता समेत हासिल गर्दै गएको छ ।
यद्यपि, सरकारले आप्रवासनलाई अझै निरुत्साहित गरिने बताएको छ । यसले आगामी दिनमा नेपालीसहितका आप्रवासीलाई बेलायत जान थप कठिन बनाउने छ ।