नेपाल–अष्ट्रेलिया संसदीय सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता

आप्रवासन आप्रवासन

अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीचको संसदीय सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य र जनस्तरीय सम्बन्ध महत्वपूर्ण रहेको बताएका हुन्।

भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। राजदूत अन्स्र्टले शिक्षा, मानव संसाधन विकास र संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहयोगलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा सभामुख अर्यालले संघीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। उनले दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्ने बताउँदै साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिमा संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे।

सभामुख अर्यालले नेपालको सामाजिक तथा आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि र तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे।

उनले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धमा जनस्तरीय सम्बन्ध महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य रहेको बताए। सभामुख अर्यालका अनुसार अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले पनि दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

नेपाल र अष्ट्रेलियाबीच सन् १९६० देखि कूटनीतिक सम्बन्ध कायम रहँदै आएको छ। पछिल्ला वर्षहरूमा शिक्षा, विकास सहयोग, मानव संसाधन विकास तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा दुई देशबीच सहकार्य हुँदै आएको छ।