अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’मा चालक दलका सदस्यबिच भएको हिंसात्मक झडपमा सात जना अमेरिकी नौसैनिकको मृत्यु भएको दाबी गरिएको छ ।
इरानको सरकारी समाचार संस्था मेहर समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै अमेरिकी नौसेनाका सात जना सदस्यको मृत्यु भएको र केही अन्य घाइते भएको जनाएको छ । लामो समयदेखिको तैनाथीका कारण युद्धपोतका चालक दलमा बढ्दो असन्तुष्टिबीच घटना भएको दाबी गरिएको छ ।
समाचारअनुसार, चालक दलका सदस्यका परिवारले लामो समयसम्म युद्धपोत तैनाथ गरिएको भन्दै विरोध गरेपछि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) प्रमुख ब्राड कुपरका एक सल्लाहकार चालक दलका गुनासा सुन्न युद्धपोतमा पुगेका थिए । सल्लाहकारले सैन्य कर्मचारीलाई सम्बोधन गरिरहेका बेला केही सदस्यले हुटिङ गरेको अनि उनीतर्फ पानीका बोतल फ्याँकेको दाबी गरिएको छ । त्यसपछि अवस्था तनावपूर्ण बनेर चालक दलका सदस्यबिच झडप भएको बताइएको छ ।
झडपमा चक्कु तथा अन्य धारिला हतियार प्रयोग भएको र त्यस क्रममा सात जनाको मृत्यु तथा केही अन्य घाइते भएको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
घटनापछि युद्धपोतभित्रको अवस्था तनावपूर्ण रहेको दाबी गरिएको छ । समाचारअनुसार यूएसएस अब्राहम लिंकन लामो समयदेखि तैनाथ छ । हाल यो हिन्द महासागरमा छ । समाचारमा युद्धपोत २६३ दिनदेखि तैनाथ रहेको र जुलाईमा ओमानमा छोटो समय रोकिएबाहेक लगातार २०८ दिन समुद्रमा रहेको दाबी गरिएको छ ।