इरानमाथि जारी युद्धका बिच रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानले परस्पर विरोधी दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी दोहोर्याएका छन्। तर, होर्मुज हुँदै हुने व्यावसायिक जहाजको आवतजावत भने एक सातायताकै न्यून अवस्थामा पुगेको छ।यसैबिच, तेहरानले आफ्नो अडान कायमै राख्दै अमेरिकासँगका माग पूरा नभएसम्म होर्मुज बन्द रहने जनाएको छ। इरानले अमेरिकासँगको युद्ध अन्त्य गर्नुअघि आफ्नो सुरक्षा सुनिश्चित हुने ग्यारेन्टी, आर्थिक प्रतिबन्ध फुकुवा तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने माग अघि सारेको छ।
इरानमा कूटनीतिक पहल पनि जारी छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले इरान भ्रमण गरी त्यहाँका राष्ट्रपति, विदेशमन्त्री तथा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवलगायत वरिष्ठ अधिकारीहरूसँग वार्ता गरेका छन्। पाकिस्तानले अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन पहल गरिरहेको जनाएको छ।
अमेरिकी सेनाका अनुसार नाकाबन्दी पुनः लागू गरेपछि उसले ५९ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको, तीनवटालाई निष्क्रिय बनाएको र दुईवटा जहाजमा प्रवेश गरी निरीक्षण गरेको छ।
यसैबिच, इजरायलले गाजामा एक साताभन्दा बढी समयपछि पहिलोपटक हवाई आक्रमण गरेको छ। दक्षिणी लेबनानमा पनि बमबारी र विध्वंसका घटना जारी छन्। दुवै क्षेत्रमा युद्धविराम लागू भएको भनिए पनि हिंसा भने रोकिएको छैन।
इजरायली रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजामा इजरायलले कब्जा गरेको क्षेत्रबाट पछि नहट्ने बताएका छन्।

लाल सागरमा हुथी विद्रोहीले एउटा पानीजहाजमाथि गरेको आक्रमणमा तीन पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी अधिकारीहरूले आक्रोश व्यक्त गरेका छन्। आक्रमणको जिम्मेवारी लिएको हुथी समूहले उक्त जहाजमा साउदी सैन्य उपकरणसमेत रहेको दाबी गरेको छ। यस घटनाले लाल सागरमा बढेको तनावबारे नयाँ चिन्ता उत्पन्न गराएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार होर्मुज र बाब अल–मन्देब जलमार्गमा भएको अवरोधका कारण यस वर्ष विश्वव्यापी तेल उत्पादन दैनिक ४३ लाख ब्यारेलले घट्न सक्छ। यसैबिच, समुद्रमा अड्किएको एउटा तेल ट्यांकरबाट चुहिएको तेल ओमानको तटसम्म पुगेको छ। तेलको फैलावट २ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा पुगेको बताइएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वभरका तेल भण्डार तीव्र गतिमा घटिरहेको चेतावनी दिएपछि स्ट्रेट अफ होर्मुज पुनः खोल्नु झन् अत्यावश्यक बन्दै गएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले जलडमरु खुला रहेको र अमेरिकाले अझै त्यसमाथि नियन्त्रण गरिरहेको दाबी गरे पनि यस महत्त्वपूर्ण जलमार्गबाट हुने जहाजको आवतजावत अत्यन्त न्यून छ।
वार्ताको पछिल्लो अवस्था: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमान्डरका एक वरिष्ठ सल्लाहकारले ट्रम्प पदबाट नबाहिरिएसम्म अमेरिकासँगको युद्ध ‘लम्ब्याउन सकिने’ बताएका छन्। यसैबिच, पाकिस्तानको विदेश मन्त्रालयले अमेरिका र इरान दुवै पक्षले आ–आफ्नो अडान परिवर्तन गर्न अस्वीकार गरे पनि दुई पक्षबिचको प्रस्तावित सम्झौता अझै सान्दर्भिक रहेको संकेत गरेको छ।