अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ।
फोर्ट हुड सैन्य आधारसँग सम्बन्धित हेलिकप्टर बुधबार बेल काउन्टीमा खेतमा खसेपछि ठुलो घाँसे मैदानमा आगलागी भएको अधिकारीहरूले बताएका छन्। दुर्घटनास्थल राज्यको राजधानी अस्टिनबाट करिब १०० किलोमिटर उत्तरमा पर्छ। बेल काउन्टीका अधिकारीका अनुसार हेलिकप्टरमा सवार दुवै जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो। फोर्ट हुडले पनि दुई सैनिकको मृत्यु पुष्टि गरेको छ।
सेनाले मृतक सैनिकहरूको परिचय परिवारलाई जानकारी गराएपछि मात्र सार्वजनिक गरिने जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।