काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरणसम्बन्धी सेवा थप व्यवस्थित बनाउन अनलाइन आवेदन प्रणाली सञ्चालनमा ल्याएको छ। विभागले ‘नेपाल ई–एटेस्टेसन सिस्टम’ (NEATS) मार्फत कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन गर्न सकिने व्यवस्था गरेको हो।
विभागले जारी गरेको सूचनाअनुसार २०८३ साउन २९ गते अर्थात् १२ अगस्ट २०२६ देखि कन्सुलर सेवाबाट प्रदान गरिँदै आएको कागजात प्रमाणीकरण (Consular Attestation) का लागि NEATS प्रणालीमार्फत अनलाइन आवेदन गर्न सकिने भएको छ।
यस्तै, २०८३ भदौ १ गते अर्थात् १७ अगस्ट २०२६ देखि कागजात प्रमाणीकरणका लागि सेवा लिन चाहने सेवाग्राहीले अनिवार्य रूपमा NEATS प्रणालीमार्फत अनलाइन आवेदन गर्नुपर्नेछ। त्यसका लागि आवश्यक कागजात प्रणालीमा अपलोड गरी आवेदन स्वीकृत भएपछि मात्र तोकिएको राजस्व बुझाउनुपर्ने विभागले जनाएको छ।
आवेदन स्वीकृत भएपछि सेवाग्राहीले प्राप्त हुने अपोइन्टमेन्टको मिति र समयमा सक्कल कागजातसहित कन्सुलर सेवा विभागमा उपस्थित हुनुपर्नेछ। यसबाट सेवाग्राहीले प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया पहिले नै अनलाइनबाट पूरा गर्न सक्नेछन्।
विभागले अनलाइन आवेदन तथा अपोइन्टमेन्टका लागि https://doc.nepalconsular.gov.np/ वेबसाइट प्रयोग गर्न आग्रह गरेको छ।
नयाँ व्यवस्थाले कन्सुलर प्रमाणीकरणका लागि विभाग पुग्ने सेवाग्राहीको प्रक्रिया थप व्यवस्थित, समयबद्ध र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ। विशेषगरी विदेश अध्ययन, रोजगारी, वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि कागजात प्रमाणीकरण गर्नुपर्ने नेपाली नागरिकले अब आवेदन प्रक्रियाको महत्वपूर्ण चरण अनलाइनबाटै पूरा गर्न सक्नेछन्।
कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौंले २०८३ साउन २७ गते जारी गरेको सूचनामा सेवाग्राहीलाई नयाँ प्रणालीअनुसार आवेदन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
