वैदेशिक रोजगार व्यवसायी संघद्वारा भदौ १ देखि देशभरका कार्यालय बन्द गर्ने घोषणा

आप्रवासन आप्रवासन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भोलि भदौ १ गतेदेखि देशभरका वैदेशिक रोजगार व्यवसायीका मुख्य तथा शाखा कार्यालय बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार र श्रमिकको उडान पूर्ण रूपमा रोक्ने घोषणा गरेको छ।

संघले २०८३ श्रावण ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको म्यान्डेट तथा श्रावण २२ गते पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको चरणबद्ध संघर्षका कार्यक्रमअनुसार यस्तो निर्णय गरिएको जनाएको छ।

यसअघि संघले पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्दै आएको थियो। साथै, श्रम स्वीकृति जारी भइसकेका श्रमिकलाई उडानका लागि दिइएको समयसीमासमेत समाप्त भएको संघले जनाएको छ।

संघका महासचिव हिरा बहादुर डाँगी (हरि)द्वारा जारी सूचनामा यो संघर्ष कुनै व्यक्ति, समूह वा तत्कालीन लाभ–हानिको विषय नभई व्यवसायीहरूको पेशागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ।

748bfdc8-d1c6-4f50-b057-7ea2a8662302

सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा सम्बन्धित निकायसँग समाधानका लागि संवाद, समन्वय र वार्ता जारी राखिएको भन्दै संघले आफ्ना मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म संघर्ष फिर्ता वा स्थगित नगर्ने स्पष्ट पारेको छ।

संघले व्यक्तिगत सुविधा वा तत्कालीन लाभका लागि निर्णयविपरीत काम–कारोबार नगर्न सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई आग्रह गरेको छ। संघको निर्णय अवज्ञा गरी लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय वा कारोबार सञ्चालन गर्ने संस्थाको अभिलेख राखिने र त्यस्ता संस्थालाई भविष्यमा संघबाट आवश्यक सहयोग, संरक्षण तथा संस्थागत साथ उपलब्ध नगराइने चेतावनीसमेत दिइएको छ।

संघका अनुसार संघर्षको अन्त्यमा आयोजना हुने बृहत् व्यवसायी समीक्षा भेलाबाट त्यस्ता संस्था तथा व्यवसायीमाथि आवश्यक निर्णय तथा कारबाहीको प्रक्रिया अघि बढाइनेछ।

संघले वर्तमान आन्दोलनलाई सामान्य कार्यक्रमका रूपमा नलिई व्यवसायिक क्षेत्रको शुद्धीकरण, पेशागत सम्मान तथा सुरक्षित भविष्य निर्माणसँग जोडिएको निर्णायक अभियानका रूपमा ग्रहण गरी निर्णयको पूर्ण पालना गर्न सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई आह्वान गरेको छ।