मलेसियास्थित नेपाली राजदूतावासले अबदेखि मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै अनलाइन पोर्टलमार्फत नयाँ व्यवस्था लागू गरेको जनाएको हो ।
नयाँ प्रणालीअनुसार मलेसियाका रोजगारदाता कम्पनीहरूले अनलाइन पोर्टलमा आफूलाई दर्ता गरी आवश्यक कागजात अपलोड गर्नुपर्नेछ । कम्पनीले मलेसियन कम्पनी आयोग (SSM) मा दर्ता भएको तीन महिनाभित्रको प्रमाण पेस गर्नुपर्नेछ ।
त्यसपछि मात्र नेपाली श्रमिकको लागि मागपत्र प्रमाणीकरण प्रक्रिया अघि बढ्नेछ । प्रक्रियालाई थप व्यवस्थित बनाउन कम्पनीहरूलाई युजर आईडी र पासवर्ड तब मात्र प्रदान गरिनेछ जब सम्पूर्ण आवश्यक कागजात पेश गरिन्छ।
KDN (Workforce Approval Letter) बिना मागपत्र प्रमाणीकरण सम्भव नहुने व्यवस्था मिलाइएको छ। KDN स्वीकृत भएको तीन कार्यदिवसभित्र मागपत्र अपलोड गर्नुपर्नेछ ।
राजदूतावासले अबको प्रमाणीकरण प्रक्रिया faceless, paperless र cashless बनाउँदैछ। साथसाथै, गुनासो तथा सुझावहरू सजिलै बुझ्न फेसबुक लाइभ र इमेलजस्ता माध्यम प्रयोग गरिनेछ ।
सम्पूर्ण प्रक्रिया पारदर्शी, छरितो र प्रभावकारी बनाउन राजदूतावास प्रतिबद्ध रहेको जनाएको छ । यस प्रणाली लागू भएपछि श्रमिकप्रति हुने अनियमितता कम हुने, प्रक्रिया छिटो टुंगिने र सेवा सहज हुने विश्वास लिइएको छ ।