के विश्वमा अहिले पहिलेभन्दा बढी भूकम्प गइरहेका छन्?

आप्रवासन आप्रवासन

 

  • मोहम्मद हद्दाद र अम्र अल्काजाज

पछिल्लो एक महिनामा इन्डोनेसिया, कोलम्बिया र मेक्सिकोमा ७ वा सोभन्दा बढी म्याग्निच्युडका तीनवटा शक्तिशाली भूकम्प गएका छन्, जसमा सयौँ मानिसको मृत्यु भएको छ। त्यसअघि जुन महिनामा भेनेजुएलाको उत्तरी क्षेत्रमा केही सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पले ठूलो भूभागमा विनाश मच्चाएका थिए।

लगातार भएका यी प्राकृतिक विपत्ति र ठुला भूकम्पको शृङ्खलाले बारम्बार उठ्ने एउटा पुरानो प्रश्नलाई फेरि सतहमा ल्याएको छ– के पृथ्वी पहिलेभन्दा बढी हल्लिन थालेको हो?

यस विश्लेषणमा अलजजिराले एक दशकको भूकम्पसम्बन्धी तथ्याङ्क अध्ययन गर्दै पछिल्लो अवस्थालाई विगतका वर्षहरूसँग तुलना गरेको छ र भूकम्प कसरी तथा कहाँ जाने गर्छन् भन्नेबारे वैज्ञानिक व्याख्या प्रस्तुत गरेको छ।

  • सन् २०२६ का १० ठुला भूकम्प

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार विश्वभर हरेक वर्ष करिब २० हजार भूकम्प अभिलेख हुन्छन्; अर्थात् दैनिक औसत ५५ वटा। तर, तीमध्ये अधिकांश यति साना र कमजोर हुन्छन् कि मानिसले महसुससमेत गर्न सक्दैनन्।

भूकम्पको म्याग्निच्युड ६ वा त्यसभन्दा माथि पुगेपछि भने ठूलो स्तरमा क्षति हुने सम्भावना बढ्छ। सन् २०२६ का सबैभन्दा ठुला १० भूकम्पमध्ये सबैभन्दा शक्तिशाली फिलिपिन्समा गएको थियो। जुनमा मिन्डानाओ नजिक गएको ७.८ म्याग्निच्युडको भूकम्पमा १०० भन्दा बढी मानिसको मृत्यु भयो। त्यही महिना भेनेजुएलामा गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पमा ६,३०० भन्दा बढी मानिसले ज्यान गुमाए।

जुलाईमा मेक्सिको तथा अगस्टमा कोलम्बिया र इन्डोनेसियामा गएका भूकम्पहरू सबै ७.४ वा त्यसभन्दा बढी म्याग्निच्युडका थिए।

  • एक दशकको तथ्याङ्कले के भन्छ?

सन् २०१६ देखि २०२५ सम्म विश्वमा प्रत्येक वर्ष औसत ६ वा त्यसभन्दा बढी म्याग्निच्युडका १३३ वटा भूकम्प अभिलेख भएका थिए। सन् २०२४ मा सबैभन्दा कम ९९ वटा र सन् २०२१ मा सबैभन्दा बढी १५७ वटा यस्ता भूकम्प मापन गरिएका थिए।

यस वर्ष अगस्टको मध्यसम्म विश्वभर ६ वा त्यसभन्दा बढी म्याग्निच्युडका ९१ वटा भूकम्प अभिलेख भइसकेका छन्। तीमध्ये ११ वटा ७ भन्दा बढी म्याग्निच्युडका छन्।

यी दुवै संख्या पछिल्लो दशकको औसत गतिभन्दा केही अगाडि देखिए पनि असामान्य भने होइनन्। यस वर्ष अहिलेसम्म ८ वा ९ म्याग्निच्युडका भूकम्प गएका छैनन्, जुन सबैभन्दा विनाशकारी श्रेणीमा पर्छन्।

तर, भूकम्प कति घातक हुन्छ भन्ने कुरा केवल त्यसको म्याग्निच्युडमा मात्र निर्भर हुँदैन। भूकम्पको गहिराइ, घना बस्ती वा सहरसँगको दूरी र स्थानीय भवनहरूको संरचनागत मजबुती अझ बढी महत्त्वपूर्ण हुन्छन्। पछिल्लो दशकका सबैभन्दा घातक भूकम्पहरू सबैभन्दा शक्तिशाली म्याग्निच्युडका थिएनन्; धेरै मानिसको मृत्यु त्यस्ता भूकम्पमा भयो, जसको केन्द्रविन्दु घना बस्तीमुनि वा नजिकै थियो।

  • के ‘भूकम्पको मौसम’ हुन्छ?

हुँदैन।

दीर्घकालीन अभिलेखले भूकम्प वर्षभरि नै जाने र यसको कुनै निश्चित मौसमी ढाँचा नरहेको देखाउँछ। यूएस जियोलोजिकल सर्भेका अनुसार वैज्ञानिकहरूले ठूलो भूकम्प कहिले जानेछ भनेर अहिलेसम्म ठ्याक्कै समय पूर्वानुमान (भविष्यवाणी) गर्न सकेका छैनन्। यसको कारण दशकौँ वा शताब्दीयौँसम्म फल्टलाइनमा जम्मा हुने टेक्टोनिक दबाबलाई १२ महिनाको मौसमी चक्रसँग जोड्न नसकिनु हो।

ठूलो भूकम्पपछि त्यसका परकम्पहरू महिनौँ वा वर्षौँसम्म पनि जारी रहन सक्छन्।

वैज्ञानिकहरूले कुनै निश्चित भूकम्पको दिन र समय तोक्नुको सट्टा कुनै क्षेत्रमा आगामी केही वर्षभित्र ठूलो भूकम्प जाने सम्भावनाको गणना गर्छन्। यस्ता अध्ययनकै आधारमा जीवन बचाउने भूकम्पप्रतिरोधी भवन निर्माण मापदण्डहरू तयार गरिन्छ। भूकम्प सुरु हुनासाथ मानिसलाई केही सेकेन्डअघि सचेत गराउने पूर्वसूचना प्रणालीहरू पनि सञ्चालनमा छन्।

  • भूकम्प कसरी आउँछ?

सरल शब्दमा भन्नुपर्दा, पृथ्वीको भूगर्भमा रहेका टेक्टोनिक प्लेटहरू आपसमा घर्षण हुँदा वा ठोक्किँदा भूकम्प आउँछ।

पृथ्वीको बाहिरी तह करिब १०० किलोमिटर बाक्ला टेक्टोनिक प्लेटहरूमा विभाजित छ। यी प्लेटहरू पृथ्वीको तातो म्यान्टल चट्टानमाथि तैरिरहेका छन्। म्यान्टल ठोस भए पनि अत्यन्तै बिस्तारै गतिशील हुने भएकाले यसले लाखौँ वर्षको अवधिमा प्लेटहरूलाई तान्ने र धकेल्ने गर्छ।

यी प्लेटहरू निरन्तर गतिशील हुन्छन्। तर, तिनका किनाराहरू प्रायः एकअर्कामा अड्किन्छन् र त्यहाँ अत्यधिक तनाव (दबाब) जम्मा हुँदै जान्छ। अन्ततः चट्टानले त्यो दबाब थेग्न नसक्दा फल्टलाइन भनिने चिराबाट चट्टान अचानक सर्छ र जमिनमा कम्पन पैदा भई भूकम्प उत्पन्न हुन्छ। यस्ता फल्टलाइन सयौँ किलोमिटरसम्म फैलिएका हुन सक्छन्।

  • भूकम्प कहाँ बढी जान्छ?

विश्वमा सबैभन्दा बढी भूकम्प जाने क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ हो। विश्वका करिब ९० प्रतिशत भूकम्प यही क्षेत्रमा हुने गर्छन्।

यो क्षेत्र अमेरिकी महादेशको पश्चिमी तट हुँदै रूसी सुदूरपूर्व, दक्षिणपूर्वी एसिया र न्युजिल्यान्डसम्म फैलिएको एउटा विशाल घेराजस्तो क्षेत्र हो। जापान, फिलिपिन्स र इन्डोनेसिया पनि यही जोखिमयुक्त क्षेत्रमा पर्छन्।

तर, रिङ अफ फायरबाहिर पनि भूकम्प जान सक्छ। ‘अल्पाइड बेल्ट’जाभाबाट सुरु भई हिमालय क्षेत्र हुँदै टर्की र भूमध्यसागरसम्म फैलिएको छ। विश्वका ठुला भूकम्पमध्ये करिब १७ प्रतिशत यही क्षेत्रमा हुने गर्छन्। त्यस्तै, प्लेटको सीमाभन्दा टाढा रहेका प्राचीन फल्टलाइनहरूमा पनि कहिलेकाहीँ भूकम्प जाने गर्छ।

  • भूकम्प कसरी मापन गरिन्छ?

भूकम्पको शक्ति ‘मोमेन्ट म्याग्निच्युड स्केल’ बाट मापन गरिन्छ। यसले भूकम्पको केन्द्रबाट निस्किएको कुल ऊर्जाको मात्रालाई प्रतिबिम्बित गर्छ।

यो मापन ‘लगरिदमिक स्केल’ मा आधारित हुन्छ। यसको अर्थ म्याग्निच्युडमा प्रत्येक १ अंकको वृद्धि हुँदा जमिन हल्लिने कम्पन करिब १० गुणा र त्यसबाट निस्कने ऊर्जा करिब ३२ गुणा बढ्छ। यस अनुसार भूकम्पको स्तरलाई यसरी बुझ्न सकिन्छ :

  • ४ देखि ४.९ म्याग्निच्युड : हल्का भूकम्प मानिन्छ, सामान्य क्षति हुन सक्छ।
  • ५ म्याग्निच्युड : ४ म्याग्निच्युडको तुलनामा जमिन करिब १० गुणा बढी हल्लिन्छ र करिब ३२ गुणा बढी ऊर्जा निस्कन्छ। कमजोर भवनमा मध्यम क्षति हुन सक्छ।
  • ६ म्याग्निच्युड : शक्तिशाली भूकम्प। ४ म्याग्निच्युडको तुलनामा जमिन करिब १०० गुणा बढी हल्लिन्छ र करिब १,००० गुणा बढी ऊर्जा निस्कन्छ।
  • ७ म्याग्निच्युड : ठूलो भूकम्प, जसले व्यापक जनधनको क्षति गराउन सक्छ।
  • ८ वा त्यसभन्दा माथि : ‘ग्रेट’ अर्थात् अत्यन्त शक्तिशाली महाभूकम्प, जसले ठूलो क्षेत्रमा पूर्ण विनाश निम्त्याउन सक्छ।

तर, भूकम्पको म्याग्निच्युड मात्रै त्यसको विनाशकारी क्षमता निर्धारण गर्ने अन्तिम आधार होइन। भूकम्पको गहिराइ, मानव बस्तीको निकटता, माटोको बनावट तथा सुनामी र पहिरोजस्ता दोस्रो चरणका विपत्तिको जोखिम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।

अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा शक्तिशाली भूकम्प

  • ९.५ म्याग्निच्युड (चिली) : सन् १९६० मे २२ मा चिलीको भाल्दिभियामा गएको यो भूकम्प इतिहासमै अभिलेख गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो, जसले प्रशान्त महासागरभर विनाशकारी सुनामी निम्त्याएको थियो।
  • ९.२ म्याग्निच्युड (अलास्का) : सन् १९६४ मा अमेरिकाको अलास्कास्थित प्रिन्स विलियम साउन्ड क्षेत्रमा गएको यो भूकम्प दोस्रो शक्तिशाली भूकम्प हो।
  • ९.१ देखि ९.३ म्याग्निच्युड (सुमात्रा) : सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियाको सुमात्रा तटबाहिर गएको भूकम्प र त्यसपछिको सुनामीले हिन्द महासागर वरपरका १४ देशमा करिब २ लाख २८ हजार मानिसको ज्यान लिएको थियो।

निष्कर्ष

पछिल्ला महिनाहरूमा ठुला भूकम्पको शृङ्खला देखिए पनि वैज्ञानिक तथ्याङ्कले पृथ्वी पहिलेभन्दा बढी भूकम्पीय रूपमा सक्रिय भएको पुष्टि गर्दैन। ६ वा त्यसभन्दा बढी म्याग्निच्युडका भूकम्पहरूको संख्या पछिल्लो दशकको औसतभन्दा केही बढी देखिए पनि त्यो अझै स्वाभाविक प्राकृतिक दायराभित्रै छ।

भूकम्पको वास्तविक जोखिम त्यसको संख्याले मात्र होइन; त्यो कहाँ, कति गहिराइमा, कस्तो भौगर्भिक अवस्थामा र कस्तो पूर्वाधार भएको मानव बस्तीमा जान्छ भन्ने कुराले निर्धारण गर्छ।