साउनमै ७० हजारभन्दा बढी नेपालीले लिए श्रम स्वीकृति, दक्ष कामदार ४० हजार नाघे

आप्रवासन आप्रवासन

आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७० हजारभन्दा बढी रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा वैदेशिक रोजगारीका लागि ७० हजार ४४१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्यांकअनुसार अन्तिम श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ जना महिला रहेका छन्। यसअनुसार वैदेशिक रोजगारीमा जाने कामदारमा पुरुषको संख्या महिलाको तुलनामा उल्लेख्य रूपमा बढी रहेको छ।

सीपअनुसार हेर्दा साउन महिनामा सबैभन्दा धेरै श्रम स्वीकृति दक्ष कामदारले लिएका छन्। दक्ष कामदारतर्फ मात्रै ४० हजार ४९६ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। यसमध्ये ३४ हजार २७८ पुरुष र ६ हजार २१८ महिला रहेका छन्।

त्यसपछि अदक्ष कामदारतर्फ १७ हजार ९९९ जना र अर्धदक्ष कामदारतर्फ ११ हजार ४६५ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, व्यावसायिक कामदारतर्फ ३७८ जना र उच्च दक्ष कामदारतर्फ १०३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्यांकअनुसार साउन महिनामा श्रम स्वीकृति लिने कुल कामदारमध्ये दक्ष कामदारको संख्या मात्रै ४० हजारभन्दा बढी छ। यसले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये दक्ष जनशक्तिको हिस्सा उल्लेख्य रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।