कुवेतमा नयाँ मनोचिकित्सा नियम, रेकिकी र ‘स्पिरिचुअल हिलिङ’ लगायत उपचारमा प्रतिबन्ध

संगम पहरी संगम पहरी

कुवेतले मनोचिकित्सा तथा मनोवैज्ञानिक परामर्शसम्बन्धी अभ्यासलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन नयाँ नियम लागू गरेको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ व्यवस्थाअनुसार प्रमाणित वैज्ञानिक आधार नभएका विभिन्न उपचार तथा उपचारको दाबी गर्ने अभ्यास अब मनोचिकित्सा सेवाका रूपमा सञ्चालन वा प्रचार गर्न नपाइने भएको छ। यो नियम कुवेतमा रहेका नेपालीसहित सबै विदेशी श्रमिक तथा बासिन्दाका लागि पनि लागू हुनेछ।

नयाँ व्यवस्थाले रेकिकी, प्रानिक हिलिङ, विभिन्न प्रकारका ऊर्जा तथा आध्यात्मिक उपचार, तथाकथित ‘फेक हिप्नोसिस’, एस्ट्रल प्रोजेक्सन, ‘कस्मिक हिलिङ’ र ‘स्टार सिड्स’ जस्ता अभ्यासलाई प्रतिबन्धित गरेको छ। त्यस्तै, ढुंगा तथा क्रिस्टललाई उपचारका रूपमा प्रयोग गर्ने, ‘ल अफ एट्र्याक्सन’मा आधारित उपचार तथा चक्र र आभासँग सम्बन्धित उपचार पद्धतिलाई पनि मनोचिकित्साको नाममा सञ्चालन गर्न नपाइने भएको छ।

कुवेत सरकारले यस्तो व्यवस्था गर्नुको मुख्य उद्देश्य मानसिक स्वास्थ्य सेवामा वैज्ञानिक प्रमाणमा आधारित उपचारलाई प्राथमिकता दिनु, सेवाको गुणस्तर सुधार गर्नु र बिरामीलाई अप्रमाणित उपचारबाट जोगाउनु रहेको छ। नयाँ नियमले मनोचिकित्सक र मनोवैज्ञानिक परामर्शदाताले वैज्ञानिक प्रमाणले पुष्टि नगरेको कुनै पनि उपचार उपलब्ध गराउन वा त्यसको प्रचार गर्न रोक लगाएको छ।

नयाँ नियमले उपचार पद्धतिमा मात्र होइन, मनोचिकित्सा सेवा प्रदान गर्ने व्यक्तिको योग्यता, व्यावसायिक इजाजतपत्र, तालिम र उपचार गर्ने स्थानसम्बन्धी मापदण्डलाई पनि कडाइ गरेको छ। सरकारी तथा निजी क्षेत्र दुवैमा काम गर्ने मनोचिकित्सक र मनोवैज्ञानिक परामर्शदाताले तोकिएको व्यावसायिक मापदण्ड पूरा गर्नुपर्नेछ।

यसअघि इजाजतपत्र प्रक्रियामा रहेका कार्यालय तथा संस्थालाई नयाँ मापदण्डअनुसार आफ्नो सेवा व्यवस्थित गर्न ६ महिनाको समय दिइएको छ। सरकारी क्षेत्रमा कार्यरत सम्बन्धित पेशाकर्मीका लागि भने नियमअनुसार आवश्यक मापदण्ड पूरा गर्न १८ महिनाको समय तोकिएको छ।

कुवेतले पछिल्ला वर्षमा निजी मानसिक स्वास्थ्य सेवाको नियमनलाई क्रमशः कडा बनाउँदै आएको छ। नयाँ व्यवस्था निजी मानसिक स्वास्थ्य क्लिनिक तथा परामर्श सेवाको गुणस्तर, बिरामीको सुरक्षा र व्यावसायिक आचारसंहिता सुधार गर्ने उद्देश्यसँग जोडिएको छ।

कुवेतमा ठूलो संख्यामा नेपाली श्रमिक तथा अन्य विदेशी नागरिक बसोबास गर्ने भएकाले यो परिवर्तन उनीहरूका लागि पनि महत्वपूर्ण छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएमा सामाजिक सञ्जाल वा अनौपचारिक माध्यमबाट अप्रमाणित उपचार खोज्नुको सट्टा इजाजतप्राप्त तथा योग्य स्वास्थ्यकर्मीबाट उपचार लिनुपर्ने आवश्यकता नयाँ नियमले अझ स्पष्ट बनाएको छ।

स्रोत: गल्फ न्युज तथा कुवेत टाइम्स।