भिजिट भिसामा गएपछि कहाँ हराउँछन् नेपाली ?, महालेखाको अध्ययनले देखायो गम्भीर तथ्य

आप्रवासन आप्रवासन

नेपालबाट भिजिट भिसा प्रयोग गरी विदेश जाने नेपालीको ठूलो हिस्सा भ्रमणपछि स्वदेश नफर्किएको देखिएको छ। महालेखापरीक्षकको कार्यालयले गरेको अध्ययनमा भिजिट भिसामा विदेश गएका १२ जनाको नमुना परीक्षण गर्दा ९ जना अर्थात् ७५ प्रतिशत भ्रमणपछि स्वदेश फर्किएको नदेखिएको पाइएको हो।

अध्यागमन ऐन, २०४९ अनुसार नेपाली नागरिकको विदेश प्रस्थान तथा स्वदेश आगमनलाई व्यवस्थित गर्ने जिम्मेवारी अध्यागमन विभागले पाएको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न अध्यागमन कार्यविधि, २०६५ समेत लागू गरिएको छ। तर, विभागको तथ्यांक र नमुना परीक्षणबाट भिजिट भिसाको प्रयोगमा गम्भीर नियमनको आवश्यकता देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

अध्यागमन विभागका अनुसार गत वर्ष १ लाख ४९ हजार ७ सय ८९ पुरुष र १ लाख ११ हजार ७ सय ६२ महिला गरी कुल २ लाख ६१ हजार ५ सय ५१ जना नेपाली भिजिट भिसामा विदेश भ्रमणमा गएका थिए। तीमध्ये प्रत्येक महिनाबाट एक जनाको दरले १२ जनाको नमुना छनोट गरी महालेखापरीक्षकको कार्यालयले परीक्षण गरेको थियो।

नमुना परीक्षणका क्रममा १२ जनामध्ये ९ जना भ्रमणपछि स्वदेश फर्किएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ। यसलाई आधार मान्दा नमुना समूहका ७५ प्रतिशत व्यक्ति विदेश गएपछि स्वदेश फर्किएको अभिलेख भेटिएको छैन। महालेखापरीक्षकको कार्यालयले ठूलो संख्यामा नेपाली भिजिट भिसामार्फत विदेश प्रस्थान गर्ने तर सोही अनुपातमा उनीहरूको स्वदेश आगमन नदेखिनु गम्भीर विषय भएको भन्दै यसमा प्रभावकारी नियमन गर्न सुझाव दिएको छ।

भिजिट भिसा सामान्यतः विदेश भ्रमण गर्ने, आफन्त भेट्ने तथा छोटो अवधिका व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिन्छ। नेपालबाट कलाकार, गैरसरकारी संस्थामा कार्यरत कर्मचारी, खेलाडी, व्यापारी, श्रमिक, औषधोपचारका लागि जाने व्यक्ति तथा आफन्त भेट्न जानेहरूले समेत यस्तो भिसा प्रयोग गर्दै आएका छन्। तर, पछिल्लो समय भिजिट भिसालाई विदेशमा लुकीछिपी रोजगारी गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ।

विशेषगरी युरोप तथा अमेरिकालगायत विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्य राख्ने तर आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थाका केही नेपालीले समेत भिजिट भिसाको सहारा लिने गरेको उल्लेख गरिएको छ। यसरी भिजिट भिसामा विदेश पुगेपछि गैरकानुनी रूपमा काम गर्ने, कागजातविहीन अवस्थामा बस्ने तथा विभिन्न समस्यामा परी अलपत्र पर्ने जोखिमसमेत बढेको छ।

महालेखापरीक्षकको कार्यालयले भिजिट भिसामा विदेश जाने र त्यसपछि स्वदेश फर्किने अवस्थाको प्रभावकारी अभिलेख राख्न तथा त्यसको आधारमा आवश्यक नियमन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। ठूलो संख्यामा नेपाली नागरिक भिजिट भिसामा विदेश जाने तर उनीहरूको फर्किएको विवरण समान अनुपातमा नदेखिनुले भिजिट भिसाको वास्तविक प्रयोग र दुरुपयोगबारे थप निगरानी आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।

यससँगै भिजिट भिसाको दुरुपयोग रोक्न सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय, यात्रुको विवरणको निगरानी तथा विदेश पुगेपछि स्वदेश फर्किएको अवस्थाको व्यवस्थित अभिलेख आवश्यक देखिएको छ। महालेखापरीक्षकको अध्ययनले भिजिट भिसा प्रणालीलाई सहज यात्राको माध्यमसँगै सम्भावित गैरकानुनी रोजगारी र मानव तस्करीसम्बन्धी जोखिमसँग जोडेर हेर्नुपर्ने अवस्था देखाएको छ।