साइप्रसले २८ हजार बढी विदेशीलाई गोल्डेन भिसा दिएको छ । साइप्रसका अर्थमन्त्री माकिस केराभ्नोसले ११ वर्षमा कुल २८ हजार ६६० गोल्डेन भिसा जारी गरिएको बताएका हुन्।
यो गोल्डेन भिसा कार्यक्रम सुरु गरिएको वर्ष अर्थात् २०१४ बाट हालसम्म प्रदान गरिएको भिसाको सङ्ख्या हो ।
यस अवधिमा साइप्रसले सबैभन्दा धेरै अर्थात् चीनका १० हजार एक सय जना नागरिकलाई गोल्डेन भिसा दिएको छ । यस्तै, रुसका ८ हजार ४७८, लेबनानका १ हजार ८२२ र युक्रेनका ९८३ जनाले भिसा पाएका छन् ।
साइप्रसले आफ्नो देशको घर जग्गा, कोष वा शेयरमा ३ लाख युरो लगानी गर्ने विदेशी नागरिकलाई गोल्डेन भिसा दिने गरेको छ । त्यसका लागि आवेदकले कर तिरिसकेपछिको ५० हजार युरोको न्यूनतम आय देखाउनु पर्ने हुन्छ ।
गोल्डेन भिसा पाउनेले साइप्रसमा आवासीय अनुमतिसँगै अन्य विशेष सुविधाहरू पाउँछन् । पर्यटकीय मुलुक साइप्रस नेपालीहरूका लागि युरोपको प्रमुख रोजगार गन्तव्य मुलुकमध्येको एक हो । साइप्रसमा नेपालीहरू पर्यटन, होटेल रेस्टुरेन्ट जस्ता क्षेत्रमा कार्यरत छन् ।