रसुवामा आएको बाढीका कारण बेपत्ता भएकामध्ये बिहीबार बिहान सवा आठ बजेसम्म १६५ जनाको शव फेला परेको छ।
देशका विभिन्न स्थानमा भएको विपद्बाट ठुलो मानवीय क्षति भएको जानकारी गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको हो। अझै ८२६ जना मानिस बेपत्ता रहेको मन्त्रालयको तथ्याङ्क छ। बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी छन्। केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार ‘बेपत्ता सुरक्षाकर्मीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना’ रहेका छन्। अन्य बेपत्तामा रसुवाका १६१ र नुवाकोटका एक जना छन्।
यस्तै ५७९ जना पर्यटक पनि सम्पर्कविहीन बनेका छन्। सम्पर्कविहीन हुनेमा ११३ नेपाली र ४६६ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ। विपद्मा परेका १०४ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना छन्।
फेला परेका १६५ शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा नौ र चितवनस्थित नारायणी नदी आसपास क्षेत्रमा ६४ वटा रहेका छन्। नवलपरासी पश्चिममा पनि पाँच जनाको शव फेला परेको छ। फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेको जानकारी पौडेलले दिएका छन्। मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट सम्प्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ।