काठमाडौँ । केरुङ-रसुवागढी सीमा क्षेत्रमा गएको विनाशकारी प्राकृतिक विपद्बाट चीन र नेपाल दुवैतर्फ ठुलो मानवीय क्षति एवम् नोक्सानी भएकोमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गहिरो दुःख व्यक्त गरेका छन्।
‘ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन, प्रभावितहरूका साथै नेपाल सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु’, राजदूत माओमिङले भनेका छन्, ‘यस कठिन घडीमा चीन नेपालको साथमा दृढताका साथ उभिएको छ।
चिनियाँतर्फ पनि ठुलो क्षति भए तापनि चीनले नेपालका लागि आपत्कालीन राहत सामग्री र नगद सहयोगको तत्काल समन्वय गरेको उनले जानकारी दिएका छन्।
चीनले आगामी दिनमा पनि थप सहयोग पुर्याउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। हातेमालो गर्दै यो कठिनाइलाई पार गरेर पुनः सुन्दर घरहरू निर्माण गर्ने विश्वास राजदूत माओमिङले व्यक्त गरेका छन्।
