बाढी प्रभावित नुवाकोटमा प्रधानमन्त्री शाहको स्थलगत निरीक्षण, राहत र पुनर्स्थापनामा जोड

आप्रवासन आप्रवासन

प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।

बिहीबार बिहान करिब ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीको अवस्था, भौतिक क्षति तथा स्थानीय समस्याबारे स्थलगत जानकारी लिनुभएको हो।

रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रियता बढाउनुभएको थियो। बाढीको घटनालगत्तै उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएका उहाँले आज प्रभावित क्षेत्रमै पुगेर अवस्थाको प्रत्यक्ष निरीक्षण गर्नुभएको हो।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाह नेतृत्वको टोलीले बाढीबाट क्षतिग्रस्त सडक, पूर्वाधार तथा बस्तीको अवस्थाबारे जानकारी लिएको थियो। साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्था र तत्काल गर्नुपर्ने कामबारे छलफल गरिएको थियो।

प्रधानमन्त्री शाहले बाढीका कारण विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ। त्यस्तै, अवरुद्ध सडक तथा अन्य अत्यावश्यक पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

बाढीपछि प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै सरकारले तत्कालीन राहतसँगै क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माण र दीर्घकालीन पुनर्स्थापनाको काम अघि बढाउने जनाएको छ।

नुवाकोटको स्थलगत निरीक्षण तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएपछि प्रधानमन्त्री शाहसहितको टोली बिहीबार नै काठमाडौं फर्किएको छ।