एआईको जोखिमलाई प्रविधि कम्पनीहरूले कम आँकिरहेको बिल गेट्सको चेतावनी

आप्रवासन आप्रवासन

 

कृत्रिम बौद्धिकता (एआई)को तीव्र विकासले रोजगारी र मानव जीवनमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले दिएका छन् । एआईबाट उत्पन्न हुन सक्ने जोखिमलाई तत्काल सम्बोधन गर्नु विश्वकै प्राथमिकतामा पर्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘एआई या त अहिलेसम्म आविष्कार गरिएको सबैभन्दा ठुलो समकक्ष हुनेछ, या अन्यायको सबैभन्दा खराब स्रोत हुनेछ,’ ६ हजार शब्दको निबन्धमा उनले लेखेका छन् । अहिलेको युग एआईको उपद्रवी युग भएको अनि आफूहरूले अहिले गर्ने छनौटहरू निकै अहम् भएको पनि उनले बताए । एआईको क्षेत्रमा भइरहेको तीव्र विकासबारे चिन्ता व्यक्त गर्ने गेट्स पहिलो प्राविधिक उद्यमी होइनन् । तर उनको निबन्धले केही एआई मोडलको काम गराइ र सम्भावित रोजगारी क्षतिको विषयमा अरू चिन्ता थपिदिएको छ ।

गएको शताब्दीको उत्तरार्द्धमा भएको कम्प्युटर क्रान्तिपछि गेट्स विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । तर आगामी प्राविधिक क्रान्ति एआई समाजका लागि अरू विध्वंसात्मक हुने चिन्ता गेट्सको छ । गेट्सका अनुसार ठुलो आर्थिक स्वार्थ जोडिएका कारण प्रविधि उद्योगले एआईका सम्भावित जोखिमलाई कम आङ्कलन गरिरहेको छ । एआई कति शक्तिशाली बन्दै गएको छ भन्नेबारे भित्री रूपमा जानकार रहेका कतिपय व्यक्ति गम्भीर रूपमा चिन्तित भए पनि सार्वजनिक रूपमा त्यसबारे बोल्न हिच्किचाइरहेको पनि उनले बताए । एआईका जोखिमबारे धेरै कडा रूपमा बोलेमा त्यसले प्रविधि क्षेत्रमा हुन लागेको आगामी लगानीलाई प्रभावित पार्न चिन्ता पनि गेट्सलाई छ ।

एआईको जोखिम नियन्त्रणका लागि देशहरूबिच समन्वय आवश्यक रहेकोमा गेट्सले जोड दिएका छन् । वर्षको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गेट्सले एआईका बढ्दो जोखिम न्यूनीकरणका लागि विश्वव्यापी पहल अघि बढाउने विषयमा छलफल गर्ने इच्छा व्यक्त गरेका छन् । उनले अमेरिकाले खतरनाक एआई मोडेलमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउने दिशामा पहिलो कदम चाले चीनले पनि त्यसलाई पछ्याउन सक्ने सम्भावना रहेको बताएका छन् ।

एआईले जैविक आक्रमण गर्न वा आणविक हतियार निर्माणमा सहयोग पुर्‍याउन सक्ने क्षमतामाथि देशहरूले निगरानी राख्नुपर्ने उनले बताए । उनका अनुसार एआई व्यवस्थापनका लागि नयाँ अन्तर्राष्ट्रिय संयन्त्र आवश्यक छ । यस्तो संयन्त्र निर्माण गर्दा आणविक निरीक्षण व्यवस्था, उड्डयन क्षेत्रको नियमन र ओजोन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबाट सिक्न सकिने उनको धारणा छ । गेट्सले एआईका कारण रोजगारीमा पर्ने असर र प्रयोगकर्ताको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा पर्न सक्ने प्रभावप्रति पनि चिन्ता व्यक्त गरेका छन् । साइबर सुरक्षा परीक्षणका क्रममा ओपनएआई, एन्थ्रोपिक र मेटा प्लेटफर्मका एआई प्रविधिले वास्तविक वेबसाइटहरूमा ह्याकिङ गरेको घटनालाई पनि उनले उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।