जापानमा जन्मदर १२५ वर्षयताकै न्यून अवस्थामा पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सन् २०२४ मा ६ लाख ८६ हजार ६१ शिशुको जन्म भएको छ ।
यो सन् २०२३ को तुलनामा ५ दशमलव ७ प्रतिशतले कम हो भने सन् १८९९ मा रेकर्ड राख्न थालिए यताकै न्यून हो । सन् २०२३ मा जापानमा ७ लाख ५८ हजार ६३१ शिशुको जन्म भएको थियो ।
सन् २०२४ कुल प्रजनन दर पनि १ दशमलव १५ मा झरेको छ । सन् २०२३ मा प्रजनन दर १ दशमलव २० प्रतिशत थियो । कुनै पनि देशलाई जनसङ्ख्या सन्तुलन कायम राखिराख्न २ दशमलव १ प्रतिशतको जनसङ्ख्या वृद्धिदर आवश्यक पर्छ । तर जापानको अवस्था निकै चिन्ताजनक छ ।
जापानमा जन्मदर घटिरहँदा मृत्युदर भने बढेको छ । अर्थात्, जापानमा जन्मने भन्दा मृत्यु हुनेको सङ्ख्या गुणात्मक रूपमा बढी छ । जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ । यो सन् २०२३ को तुलनामा १ दशमलव ९ प्रतिशतले बढी हो ।
हाल जापानका २० हजारभन्दा बढी समुदायका बस्तीहरूका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन् । मोनाकोपछि जापान विश्वकै सबैभन्दा धेरै वृद्ध जनसङ्ख्या भएको देश बन्न पुगेको छ ।
जनसङ्ख्या असन्तुलन हुँदै जाँदा अर्थतन्त्र टिकाइरहन नेपालीसहितका आप्रवासी कामदारमाथि जापानको निर्भरता समेत बढ्दै गएको छ । हाल जापानमा १२ करोड ४० लाख जनसङ्ख्या छ । तर अवस्था यही रहे सन् २०७० सम्म जनसङ्ख्या घटेर ८ करोड ७० लाखमा सीमित हुने प्रक्षेपण छ ।
चिन्ताजनक यस अवस्थालाई प्रधानमन्त्री शिगेरु इशिबाले शान्त आपत्कालको संज्ञा दिएका छन् । उनले यसमा सुधार ल्याउन थप कार्यक्रमहरू ल्याउने वाचा गरेका छन् । तर उनीसँगै उनीअघिका सरकारहरूले विभिन्न प्रयास गरे पनि अवस्था सुधार्न सकेका छैनन् ।