भोटेकोशी बाढीले बगाएका सात शव भारतको उत्तरप्रदेश राज्यको महाराजगञ्जको गण्डक नदि तथा कुशीनगर नदिमा फेला परेका छन् । महाराजगञ्जको गण्डक नदिमा चारवटा शव तथा कुशीनगरमा तीनवटा शव फेला परेको बीबीसी हिन्दी सेवाले जनाएको छ ।
अधिकारीहरूका अनुसार, तीमध्ये पाँच महिला र दुई पुरुष रहेका छन् । नेपालमा आएको भीषण बाढीका क्रममा यी शवहरू नदीमा बगेर तीव्र बहावसँगै भारततर्फ आएको आशंका गरिएको छ
सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेका थिए । टोलीले मोटरबोटको सहायताले ती शवहरूलाई नदीबाट निकालेर महाराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाएको छ । अहिलेसम्म शवहरूको पहिचान भइनसकेको अधिकारीहरुले बीबीसीलाई बताएका छन् ।
निचलौल तहसीलका उप–जिल्लाधिकारी सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीसँग भने, ‘बिहीबार दिउँसो गण्डक नदीबाट चारवटा शव फेला परेका छन् । जसमा तीन महिला र एक पुरुष छन् । यी शवहरू ‘अपस्ट्रीम’ अर्थात् नेपालबाट बगेर आएको उच्च सम्भावना छ ।’
उनले भने, ‘हालसम्म शवहरूको पहिचान भइसकेको छैन । हामी निरन्तर नेपाली प्रशासनको सम्पर्कमा छौँ । नदी किनारमा भारतीय सुरक्षा निकायका एसडीआरएफ, आरआरटी र एसएसबीका टोलीहरूले निरन्तर निगरानी गरिरहेका छन् ।’
एसएसबी, महाराजगञ्ज र कुशीनगर जिल्ला प्रशासन मृतकहरूको पहिचान गर्न र उनीहरूका आफन्तहरूको पत्ता लगाउन नेपालका सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन् ।
कुशीनगरका अतिरिक्त प्रहरी उपरीक्षक सिद्धार्थ वर्माले बीबीसी हिन्दीसँग भने, ‘कुशीनगरमा तीनवटा शव फेला परेका छन् । जसमा दुई महिला र एक पुरुष छन् । तीनवटै शवलाई फ्रीजरमा सुरक्षित राखिएको छ । पहिचान गर्ने प्रक्रिया चलिरहेको छ ।’