चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ। ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभएको छ।
प्रजिअ परियारका अनुसार ताल फुटेको सूचना प्राप्त भएसँगै रसुवास्थित नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन सर्कुलर गरिएको छ। उहाँले थुनिएको ताल फुटेको जानकारी चिनियाँ पक्षबाट आएको र नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरिसकिएको बताउनुभयो।
छोचेन खोला र पुरेपु त्साङ्पो तिब्बतबाट बगेर आउने नदी हुन्। यी नदीहरू नेपाल प्रवेश गरेपछि भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। चीनतर्फ बनेको ताल फुटेपछि त्यसको प्रभाव नेपालतर्फको नदी तटीय क्षेत्रमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सतर्कता बढाएको हो।
बिहीबार बिहानसम्म पहिरोले थुनिएको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको थियो। ताल फुट्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ अधिकारीहरूले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेका थिए।
चीनमा उद्धार अभियान स्थगित
तालमा पानीको मात्रा बढ्दै गएपछि थप बाढीको जोखिम बढेकाले चीनले तिब्बत क्षेत्रमा जारी उद्धार अभियानसमेत स्थगित गरेको छ।
अलजजिराले चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार चिनियाँ अधिकारीहरूले उद्धार टोलीलाई घटनास्थलबाट कम्तीमा एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिएका छन्।
विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रमा अझै सयौँ मानिस सम्पर्कविहीन रहेको बताइएको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चीन–नेपाल सीमाक्षेत्रमा पहिरोपछि थुप्रिएको ठूलो मात्राको भग्नावशेष र लेदोले नदी थुनिएर बनेको ताल भरिएपछि पानी उद्धार टोली रहेको क्षेत्रतर्फ बग्न थालेको हो।
सीसीटीभीका अनुसार सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा स्ट्यान्डबाई अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।
ताल फुटिसकेको अवस्थामा त्यसबाट निस्किएको पानी र सम्भावित थप बाढीले नेपालतर्फको नदी प्रणालीमा समेत प्रभाव पार्न सक्ने भएकाले रसुवा र आसपासका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ।