दुर्घटना शुक्रबार राति समाइलको वादी बनी रावाहा क्षेत्रमा पर्ने सुल्तान थुवैनी बिन सइद रोडमा भएको हो। मस्कटतर्फ जाने सडकखण्डमा ट्रकसहित अन्य धेरै सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनापछि सडकमा ठूलो ट्राफिक जामसमेत भएको थियो।
रोयल ओमान पुलिसको ट्राफिक निर्देशनालयले दुर्घटनापछि तत्काल घटनास्थल आसपासबाट यात्रा गर्ने चालकलाई सावधानी अपनाउन आग्रह गरेको थियो। प्रारम्भिक सूचनामा दुर्घटनामा भएको मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको थिएन। तर शनिबार बिहान जारी गरिएको पछिल्लो विवरणमा प्रहरीले ६ जनाको मृत्यु भएको र १८ जना घाइते भएको पुष्टि गरेको हो।
प्रहरीका अनुसार दुर्घटना समाइलको अल महाल क्षेत्रमा भएको थियो। दुर्घटनाका कारण मस्कटतर्फ जाने सडकमा यातायात प्रभावित भएपछि चालकहरूलाई गति कम गर्न, सावधानीपूर्वक यात्रा गर्न र सुरक्षाकर्मीले दिएको ट्राफिक निर्देशन पालना गर्न आग्रह गरिएको थियो।
दुर्घटनामा घाइते भएका १८ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको थप स्वास्थ्य अवस्थाबारे भने प्रारम्भिक विवरणमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
दुर्घटनाको कारणबारे रोयल ओमान पुलिसले तत्काल विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनास्थलमा उद्धार तथा व्यवस्थापनको काम भइरहँदा सडकमा लामो समयसम्म यातायात प्रभावित भएको थियो।
दुर्घटनाप्रति दक्षिण अल बातिनाह गभर्नोरेटले दुःख व्यक्त गर्दै मृत्यु भएका व्यक्तिका परिवार तथा आफन्तप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
ओमानमा नेपाली श्रमिकको ठूलो उपस्थिति रहेकाले त्यहाँ हुने यस्ता ठूला सडक दुर्घटनाले नेपाली समुदायमा समेत चासो र चिन्ता बढाउने गरेको छ। तर यस घटनामा मृत्यु वा घाइते हुने व्यक्तिहरूको राष्ट्रियता सम्बन्धी विवरण भने सम्बन्धित अधिकारीहरूले सार्वजनिक गरिसकेका छैनन्।