भोटेकोशी बाढीको ६ दिन :  अझै ४ हजार २४७ सम्पर्कविहीन

आप्रवासन आप्रवासन

 

 रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीको छैटाैँ दिन पनि खोज तथा उद्धार जारी छ । गत बुधबार आएको बाढीमा परी निधन भएकामध्ये सोमबार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजेसम्मको विवरणअनुसार बाढीमा परी अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् भने १० हजार ४५१ जनाको विभिन्न माध्यमबाट उद्धार गरिएको छ । 

बाढीमा परी सुरक्षाकर्मी समेत बेपत्ता छन् । नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाका ८६५ जना, नुवाकोटका १५५८ जना, जलविद्युत् आयोजनाका ९३३ जना, मकवानपुरका ६५ जना बेपत्ता रहेका छन् ।

बाढीमा विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि अहिलेसम्म सम्पर्कविहीन छन् ।

प्रभावित क्षेत्रमा ३७ ट्रक र ३५ बोलेरोमा राहत 

प्राधिकरणले सोमबार जनाएअनुसार बाढी प्रभावित स्थानमा हालसम्म ३७ वटा ट्रक र ३५ वटा बोलेरोमार्फत खाद्य र गैरखाद्य सामग्री पठाइएको छ । त्यस्तै ८ वटा हेलिकोप्टरमार्फत उद्धार सामग्री प्रभावित क्षेत्रमा पठाएको सरकारले जनाएको छ । भदौ १४ गते रसुवा जिल्लाका लागि स्थलमार्ग एवम् हवाई मार्गबाट ५ वटा पोर्टेबल जेनेरेटरसहित खाद्य तथा गैरखाद्य (औषधी तथा स्वास्थ्य सामग्री) पठाउनुका साथै नुवाकोट जिल्लामा १६ वटा सवारीसाधन तथा हेलिकोप्टर सामग्री परिचालन गरेको जनाएको छ ।