रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा ठूलो क्षति पुगेपछि विपद्मा परेका नेपाली नागरिकका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ।
नेपालमा आएको विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा कतार सरकारले नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउन लागेको हो। राहत सामग्री बोकेको कतारी जहाज आज दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। जहाज अवतरण गरेको केही समयपछि राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ।
कतार सरकारको सहयोगमा प्राप्त हुने राहत सामग्री बाढी तथा विपद्बाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न उपयोग गरिने अपेक्षा गरिएको छ। विपद्को कठिन समयमा कतार सरकारले नेपाल र नेपाली जनताप्रति देखाएको सहयोग, सद्भाव र ऐक्यबद्धताप्रति नेपाल सरकारले आभार व्यक्त गरेको छ। बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयास भइरहेका बेला मित्रराष्ट्र कतारबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ।