५९१ जना पर्यटक अझै सम्पर्कविहीन : बोर्ड

आप्रवासन आप्रवासन

 

 नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरिएको जनाएको छ।

बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार ५ सय ९१ जना अझै सम्पर्कविहीन छन्।  उद्धार गरिएका र सम्पर्कविहीन भएकाहरूमा स्वदेशी तथा विदेशी दुवै नागरिक परेका छन्। पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्राप्त तथ्यांकअनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी १ सय ८० जना भारतीय नागरिक रहेका छन्। 

यस्तै चीनका ८९ जना र अन्य विभिन्न देशका पर्यटकहरूको उद्धार गरिएको छ। बोर्डले हालसम्म १२ वटा राष्ट्रका पर्यटकहरूको तथ्यांक संकलन गरी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नियमित अपडेट गरिरहेको जनाएको छ।

विपद्को जानकारी प्राप्त हुनासाथ बोर्डले सक्रियता देखाएको प्रवक्ता शर्माले बताए। अगस्ट २६ देखि नै कैलाश मानसरोवरका टुर अपरेटर तथा अन्य सरोकारवालाहरूसँग बैठक बसी सूचना संकलन सुरु गरिएको थियो। सूचनालाई व्यवस्थित बनाउन गुगल फर्म, इमेल र ह्वाट्सएपको प्रयोग गरिएको छ भने पर्यटक प्रहरीसँग तथ्यांक प्रमाणीकरण गर्ने काम भइरहेको छ।

सहायता र समन्वयबारे जानकारी दिँदै उनले भने, ‘हामीले पर्यटन बोर्डमा हेल्प डेस्क स्थापना गरेका छौँ। सम्पर्कविहीन रहेका पर्यटकका परिवार र आफन्तहरू सोधपुछका लागि कार्यालयमै आउने गर्नुभएको छ।’

पारिवारिक आश्वस्तताबारे थप्दै उनले भने, ‘उहाँहरूलाई सूचना उपलब्ध गराई आश्वस्त पार्ने काम भइरहेको छ। राज्यको निकायले अभिभावकत्व ग्रहण गर्दा पीडित परिवारमा सकारात्मक सन्देश गएको छ।’

विशेष गरी तातोपानी र सीमा क्षेत्रका होटेल तथा अध्यागमन कार्यालय आसपासका क्षेत्रबाट बढी सूचना प्राप्त भइरहेको बोर्डले जनाएको छ। कतिपय पर्यटक इमिग्रेसन पार गर्ने क्रममा त कतिपय होटेलमा बसिरहेको अवस्थामा सम्पर्कविहीन भएका हुन्। ट्रेकिङ र टुर एजेन्सीहरूले आफ्ना पर्यटकमार्फत विवरण उपलब्ध गराइरहेका छन्। 

बोर्डले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा सूचना प्रवाहलाई तीव्र बनाएको छ। नेपाल प्रहरीले तोकेका सम्पर्क व्यक्ति र अस्पतालहरूको सूचीसमेत सम्प्रेषण गरी उद्धार र राहत कार्यमा सहजीकरण भइरहेको प्रवक्ता शर्माले जानकारी दिए।