कतारमा स्थापना भएर सञ्चालन हुँदै आएको पिजन इन्जिनियरिङले सेवाको २२ वर्ष पूरा गरेको छ ।
वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार शर्माले एक विज्ञप्ति जारी गर्दै कतार सरकारका सम्बन्धित निकाय, ग्राहक, साझेदार, आपूर्तिकर्ता, सरोकारवाला तथा कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । उनीहरूको विश्वास, सहयोग र योगदानले कम्पनीको यात्रा र उपलब्धिहरूलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन् ।
कम्पनीको यात्रामा सुरुदेखि नै सहभागी भएका वा छोटो समयका लागि योगदान दिएका सबैप्रति शर्माले धन्यवाद दिएका छन् । प्रत्येक व्यक्तिको योगदान, साझेदारी र प्राप्त अवसरले कम्पनीलाई वर्तमान अवस्थामा पुर्याउन सहयोग गरेको उनको भनाइ छ ।
पिजन इन्जिनियरिङ सन् २००४ मा स्थापना भएको थियो । कतारको विकाससँगै अघि बढेको कम्पनी अहिले आठ देशका ३ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी दिएर विविधतायुक्त संस्थाका रूपमा विकसित भएको शर्माको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले विभिन्न क्षेत्रका ग्राहकलाई सेवा दिँदै आएको छ ।
कम्पनीले पूर्वाधार, ऊर्जा, आतिथ्य सेवा तथा खेलकुदसम्बन्धी कार्यक्रमलगायतका महत्त्वपूर्ण परियोजनामा काम गर्दै आएको छ । कतारको निरन्तर विकास र समृद्धिमा सहयोग पुर्याउने प्रतिबद्धताअनुरूप विभिन्न क्षेत्रमा काम गर्दै आएको कम्पनीले जनाएको छ ।
पिजन इन्जिनियरिङले बितेका २२ वर्षमा आफ्नो परिवारको हिस्सा बनेका कर्मचारीको योगदानलाई विशेष महत्त्व दिएको छ । कम्पनीमा काम गरेर कर्मचारीले आफ्नो परिवारको जीवनस्तर सुधार गर्न, छोराछोरीको शिक्षामा सहयोग पुर्याउन र उनीहरूलाई स्नातक तहसम्मको शिक्षा पूरा गराउन योगदान दिन सकेको विषय कम्पनीका लागि गर्वको स्रोत रहेको शर्माले बताए ।
कर्मचारीको निरन्तर सिकाइ, सीप अभिवृद्धि र ज्ञान विकासलाई प्रोत्साहन गर्दै उनीहरूको क्षमता सुदृढ बनाउने, करियरमा प्रगति गर्न सहयोग गर्ने र भविष्यमा अझ ठूला अवसरका लागि तयार पार्ने लक्ष्य कम्पनीले लिएको छ ।
२२ वर्ष पूरा गरेको अवसरमा कम्पनीले आफ्नो नयाँ तथा परिमार्जित ब्रान्ड पहिचानसमेत सार्वजनिक गरेको छ । कम्पनीको विकासक्रम र भविष्यका आकांक्षा प्रतिबिम्बित गर्ने उद्देश्यले ब्रान्ड पहिचान परिमार्जन गरिएको शर्माले बताएका छन् ।
दृश्य पहिचानमा परिवर्तन भए पनि कम्पनीका मूल्यमान्यता भने यथावत् रहने उनले स्पष्ट पारेका छन् । ‘मानिसलाई सशक्त बनाउने, उत्कृष्ट सेवा प्रदान गर्ने’ कम्पनीको मूल प्रतिबद्धता रहेको छ । ग्राहकलाई विश्वासिलो साझेदारका रूपमा सेवा दिने, कर्मचारीसँग एउटै परिवारका सदस्यझैँ साथमा रहने र कतारको प्रगतिमा अर्थपूर्ण योगदान गर्ने प्रतिबद्धता पनि निरन्तर रहने उनले उल्लेख गरेका छन् ।
कम्पनीको यात्रा विश्वासमा आधारित, मानिसको योगदानबाट सुदृढ र साझा सफलताबाट प्रेरित रहेको शर्माले बताएका छन् ।
पिजन इन्जिनियरिङ प्रोजेक्ट्स, ट्रेडिङ एन्ड जनरल सर्भिसेज डब्लूएलएलले ‘कतारमै जन्मिएको र हुर्किएको, विश्वास र उत्कृष्टताका २२ वर्ष’ भन्ने सन्देशसहित आफ्नो वार्षिकोत्सव मनाएको हो ।