गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गल्छी गाउँपालिकामा २८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
गाउँपालिकाले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार वडा नम्बर ६ सबैभन्दा बढी प्रभावित भएको छ । वडा नम्बर ४, ८ र १ मा पनि ठुलो क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।
दुलालका अनुसार पालिकाका विभिन्न वडामा ठुलो भौतिक क्षति भएको छ ।
विपद्का समयमा गल्छीबाट नुवाकोट र रसुवातर्फ गएका १० जना स्थानीय सम्पर्कविहीन भएका थिए । तीमध्ये एक जनाको शव फेला परेको छ भने ९ जना अझै बेपत्ता रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।
उनकाअनुसार अहिले १२० परिवार पूर्ण रूपमा विस्थापित भई अस्थायी रूपमा बसोबास गरिरहेका छन् । पालिकाले पूर्ण र आंशिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।
खाद्यान्न व्यवस्था के छ ?
प्रभावित परिवारहरूका लागि गाउँपालिकाले तत्काल राहत स्वरूप प्रतिपरिवार दुई बोरा चामलसहित तेल, दाल, नुन र मसलाजस्ता अत्यावश्यक खाद्य सामग्री घरघरमै पुर्याएको छ । विश्व खाद्य कार्यक्रमले आगामी तीन महिनासम्मका लागि खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
विस्थापित भएकाहरूका लागि दुई स्थानमा ‘होल्डिङ सेन्टर’ सञ्चालन गरिएको छ । जहाँ करिब १८० जनाले नियमित रूपमा खाना खाइरहेका छन् । विभिन्न दातृ निकाय र संघसंस्थाहरूबाट पनि राहत सामग्री प्राप्त हुने क्रम जारी छ । गाउँपालिकाका पीडितका लागि खाद्यान्न पुग्दो रहेको दुलाल बताउँछन् ।
लत्ताकपडा र भाँडा आवश्यक
खाद्यान्नको समस्या तत्कालका लागि समाधान भए तापनि पीडितहरूलाई अन्य आधारभूत सामग्रीको चरम अभाव देखिएको छ । धेरैजसो मानिस ज्यान जोगाउन एकसरो लुगामा घरबाट निस्किएका कारण उनीहरूका लागि फेर्ने लुगा र सुत्नका लागि सिरक–डसनाको अभाव छ ।
‘तत्कालका लागि टेन्ट, खाना पकाउने चुलो, ग्यास सिलिन्डर, भाँडाकुँडा र उज्यालोका लागि सोलार लाइटको आवश्यकता छ’ दुलालले भने । जिल्ला प्रशासन कार्यालयमार्फत पनि केही राहत सामग्री प्राप्त भएको र वितरण कार्य भइरहेको उनको भनाइ छ ।
स्वास्थ्य र मनोपरामर्श
करोडौँको धनमाल क्षति भएका कारण पीडितहरू मानसिक रूपमा निकै विचलित अवस्थामा छन् । उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले मोबाइल स्वास्थ्य टिम परिचालन गरेको छ । जसमा डाक्टरहरूसहित मनोपरामर्शदाताहरूको टोलीले पीडितहरूलाई परामर्श र उपचार सेवा प्रदान गरिरहेको छ ।
गाउँपालिकाले उपलब्ध स्रोत र साधनको प्रयोग गरी राहत र पुनःस्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए ।