बाढीले घरपरिवार संकटमा परे नेपाल फर्किन यूएईका नेपालीलाई दूतावासको साथ

आप्रवासन आप्रवासन

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित जिल्लाका नेपालीहरूलाई संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले अत्यन्त जरुरी सूचना जारी गरेको छ।

बाढीका कारण परिवार तथा आफन्तको सहयोगका लागि तत्काल नेपाल फर्कनुपर्ने अवस्थामा रहेका यूएईमा कार्यरत नेपाली कामदार तथा श्रमिकलाई रोजगारदाता कम्पनीबाट नेपाल फर्कन आवश्यक बिदा वा अनुमति लिन कठिनाइ भइरहेको भए दूतावासले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने जनाएको छ।

राजदूतावासले समस्यामा परेका नेपाली श्रमिकलाई आफ्नो विवरण आधिकारिक माध्यमबाट दर्ता गराउन आग्रह गरेको छ। यसका लागि कन्सुलर पोर्टल वा परराष्ट्र मन्त्रालयको ‘एमओएफए मित्र’ एपमार्फत आफ्नो विवरण तथा समस्या वा गुनासो दर्ता गर्न सकिनेछ।

दूतावासका अनुसार विवरण दर्ता गर्दा नेपाल फर्कनुपर्ने अवस्था र त्यसको कारणसहित आफ्नो समस्या यथार्थ, स्पष्ट र पूर्ण रूपमा उल्लेख गर्नुपर्नेछ। यसबाट सम्बन्धित निकाय तथा रोजगारदाता कम्पनीसँग आवश्यक समन्वय र सहजीकरण गर्न सहज हुने दूतावासले जनाएको छ।

दूतावासले विवरण दर्ता गर्दा पूरा नाम, घर तथा प्रभावित जिल्ला, हाल बसोबास गरिरहेको स्थान र सम्पर्क नम्बर, राहदानी नम्बर तथा सम्भव भए राहदानीको प्रतिलिपि उपलब्ध गराउन भनेको छ।

त्यस्तै, आफू कार्यरत कम्पनीको नाम र ठेगाना, कम्पनीका एचआर म्यानेजर वा स्पोन्सरको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना पनि उपलब्ध गराउनुपर्नेछ। नेपाल फर्कनुपर्ने अवस्था तथा त्यसको कारणको संक्षिप्त विवरणसमेत अनिवार्य रूपमा उल्लेख गर्न दूतावासले आग्रह गरेको छ।

दूतावासका अनुसार रोजगारदाता कम्पनीबाट बिदा वा नेपाल फर्कने अनुमति लिन कठिनाइ भइरहेको भए त्यसको संक्षिप्त विवरण पनि दर्ता गर्न सकिनेछ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा आफन्तको सहयोगका लागि तत्काल नेपाल फर्कनुपर्ने अवस्थामा रहेका यूएईका नेपाली श्रमिकलाई लक्षित गर्दै दूतावासले यो सूचना जारी गरेको हो। समस्या परेका श्रमिकलाई समयमै आफ्नो विवरण दर्ता गरी दूतावासको सहयोग लिन आग्रह गरिएको छ।

WhatsApp Image 2026-08-31 at 5.13.28 PM