नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको सबैभन्दा ठुलो जलविद्युत आयोजना, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा बाढी र पहिरोका कारण ठुलो मानवीय क्षति भएको छ । भदौ १० गते नेपाल–चीन सीमा नजिक गएको हिमपहिरो र त्यसलगत्तै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवामा निर्माणाधीन यस आयोजनाका ५५७ जना कर्मचारी तथा श्रमिकहरू बेपत्ता भएका हुन् ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढीले आयोजनाको हेडवर्क्स, कार्यालय र आवास क्षेत्र पूर्ण रूपमा बगाएको जनाएको छ ।
आयोजनास्थलमा नेपाल, कोरिया, चीन र भारत लगायतका विभिन्न मुलुकका गरी कुल १,४३३ जना जनशक्ति कार्यरत थिए । बाढी आउनुअघि पूर्वसूचना जारी गरिए तापनि अत्यन्त छोटो समयमा ठुलो परिमाणमा लेदो र ढुङ्गासहितको बाढी छिरेकाले धेरै कर्मचारी र श्रमिकहरू सुरक्षित स्थानमा जान पाएनन् । हालसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार ८७६ जनाको उद्धार गरिएको छ भने ५५७ जना अझै सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेहरूमा मुख्य सिभिल सहायक ठेकेदार ‘पावर चाइना’ का ३८५ जना, इलेक्ट्रोमेकानिकल सहायक ठेकेदार ‘एन्डिज हाइड्रो’ का ९४ जना, मुख्य निर्माण ठेकेदार ‘डुसान’ का ५६ जना, प्रवर्द्धक कम्पनीका १५ जना र परामर्शदाताका ७ जना रहेका छन् ।
बेपत्तामध्ये करिब ११५ जना आयोजनाको हेडवर्क्स क्षेत्र र मुख्य सुरुङभित्र फसेको हुनसक्ने आशङ्का गरिएको छ । अत्यन्त विकट भौगोलिक अवस्था र सुरुङभित्रको जोखिमका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको कम्पनीले जनाएको छ । बाढीले हेडवर्क्स क्षेत्र पूर्ण रूपमा लेदोले भरिएको छ भने त्यहाँ रहेका उपकरणहरू समेत सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका छन् । बाढीका कारण आयोजनाको भौतिक संरचनामा पुगेको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ ।
उद्धारका लागि कम्पनीले सरकारका विभिन्न निकायसँगको समन्वयमा हेलिकप्टर, ड्रोन र विशेषज्ञ टोली परिचालन गरेको छ । भदौ १० गतेदेखि नै सुरु भएको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सिम्रिक सेक्युरिटी गोर्खा फोर्स र नेपाल माउन्टेन रेस्क्यु एसोसिएसनको टोली खटिएका छन् । कोरिया र चीनबाट आएका विशेषज्ञ टोलीले आधुनिक प्रविधिहरू जस्तै ‘म्यान्ट्रेलिङ’ र ‘एयर स्क्यानिङ’ को प्रयोग गरी हराइरहेकाहरूको खोजी गरिरहेका छन् । भदौ १२ गते एक भारतीय नागरिकको घाइते अवस्थामा उद्धार गरिएको थियो भने अन्यको खोजी कार्य जारी छ ।
आयोजना जुलाई २०२७ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । प्रवर्द्धक कम्पनीले बेपत्ता व्यक्तिहरूका परिवारसँग नियमित सम्पर्कमा रहेको र सरकारको ‘वार रुम मार्फत समन्वय गरी उद्धार कार्यलाई तीव्रता दिएको बताएको छ । कम्पनीले यस कठिन घडीमा धैर्यधारण गर्न परिवारजनमा अनुरोध गर्दै उपलब्ध सबै स्रोत र साधन प्रयोग गरेर खोजी कार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।